बाढी प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइ शिक्षा सँगसँगै

काठमाडौ : बाढी प्रभावित क्षेत्रमा सरसफाइको अभाव र दुषित पानीका कारण रोग फैलिन सक्ने भएकाले राहत वितरण सँगसँगै सरसफाइ शिक्षा पनि दिन थालिएको छ ।

राहत वितरण गर्ने सरकारी तथा गैरसरकारी संस्थाले दिइने राहतमा खानेकुरा मात्र नभई सरसफाइ सामग्री समेत भएकाले त्यसको प्रयोग र खानेपानी शुद्धीकरण गर्ने उपाय सम्बन्धी पनि जानकारी दिन थालेको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सिरहाका सदस्य सचिव राजेश कुशवाहाले जानकारी दिनुभयो ।

सिरहाको कल्याणपुर नगरपालिका –३, इटारी प्रसाहीमा राहत वितरण सँगै सरसफाइका विषयमा जानकारी गराउँदै । फोटो : सुनिल कुमार शाहको फेसबुकबाट ।

‘जिल्लामा विभिन्न संघसंस्थाले राहत वितरण गरिरहेका छन्, राहत वितरण गर्ने टोलीले नै पानीको शुद्धीकरण कसरी गर्ने भन्ने विषयमा राहत वितरण गर्दा नै भनिरहेका छन्, हामी पनि उहाँहरु सँगै हिडेर पानी शुद्धीकरण गर्ने क्लोरिन तथा आक्वाट्याब वितरण गरिरहेका छौं, पानी शुद्धीकरण नगरी पिउँदा हुने हानी, शुद्धीकरण गर्दा ध्यान दिनुपर्ने कुरा, प्रयोग गर्ने मात्रा, हात धुने तरिका, चर्पी प्रयोग गर्दा स्वास्थ्यमा हुने फाइदा लगायत विषयमा सरसफाइ शिक्षा दिइरहेका छौं’ उहाँले भन्नुभयो ।

सप्तरीमा पनि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानीजन्य रोग फैलिन नदिन सुरक्षित खानेपानीको प्रयोगलाई जोड दिइरहेको छ । जिल्लामा सुरक्षित खानेपानी आपूर्ति व्यवस्थापनको जिम्मेवारी लिएर काम गरिरहेको र वास क्लष्टरले एकीकृत रुपमा काम गरिरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बताउनुभयो ।

‘वासमा काम गर्ने संघसंस्था, डोनर एजेन्सी, सरकारी कार्यालय मिलेर हामीले खानेपानी शुद्धीकरणका लागि आवश्यक सामग्री तथा विधि समेत सिकाइरहेका छौं, यसैका कारण अहिलेसम्म पानीजन्य रोग देखापरेको छैन’ डिभिजन प्रमुख यादवले भन्नुभयो ।

राहत सामग्री भित्र     सरसफाइ सामग्रीहरु उपलब्ध गराउँदा त्यसको नाम, प्रयोग गर्ने तरिका तथा सरसफाइ अभाव र दुषित खानेपानीका कारण फैलिन सक्ने रोगहरु र बच्ने उपायका विषयमा पनि जानकारी गराउने हो भने झाडापखाला, आँउ जस्ता रोग व्याधि लाग्न नपाउने डाक्टरहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार