यसकारण रोकिएन, बाढी र डुबानमा पनि रौतहटमा खानेपानीको आपूर्ति

रौतहट : देशभर आएको बाढी पहिरो र डुबानबाट अहिलेसम्म झण्डै १ सय ३० जनाको ज्यान गइसकेको छ । बाढी र डुबानले रौतहटमा मात्र २० जनाको ज्यान लिएको छ । मानवीय क्षति सँगै बाढी पहिरो र डुबानबाट खानेपानी सेवा पनि प्रभावित भए ।

तर रौतहटमा भने केही खानेपानी आयोजना र हाते पम्प बाहेक अरु खानेपानी आयोजना निरन्तर चलिरहे ।

बाढी र डुबानमा पनि खानेपानी आपूर्ति भइरहनुको कारण

रौतहटको सदरमुकाम गौरमै खानेपानीको हाहकार भयो । विद्युत अभावमा नेपाल खानेपानी संस्थानले खानेपानी वितरण गर्न नसक्दा बाढी प्रभावितले खानेपानी समस्या झेल्नुप-यो । संस्थानसँग भएको जेनेरेटर समेत पानी पसेर स्टार्ट नभएपछि उपभोक्तालाई खानेपानी वितरण गर्ने संस्थानको प्रयास असफल भयो । दुईदिन पछि विद्युत आएपछि मात्र संस्थानले गौरमा खानेपानी सेवा सुचारु ग-यो ।

तर रौतहटकै गरुढा नगरपालिका तथा चन्द्रनिगाहपुर तथा पिपरा, विजयपुर र लक्ष्मीनियाँमा भने खानेपानी आपूर्तिमा कुनै अवरोध आएन । खानेपानी आयोजनाका लागि आवश्यक पर्ने विद्युत सोलार सिस्टमबाट आपुर्ति भएपछि खानेपानी सेवा अवरुद्ध नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटका डिभिजन प्रमुख अनिल केसरीले जानकारी दिनुभयो ।

‘हामीले दुई बर्ष यता बनेका सबैजसो खानेपानी आयोजनामा सोलार सिस्टम जडान गरेका छौं, राष्ट्रिय प्रसारण लाइनबाट ल्याएको बिजुली बेला बेलामा गइरहने हुन्छ, आयोजनामा सोलार सिस्टम जडान भएपछि विजुलीका समस्या झेल्नुपरेन, यसले सबैभन्दा बढी विपदको समयमा काम गर्दो रहेछ भन्ने कुरा यसपालीको बाढी र डुबानको बेला प्रमाणि भयो’ डिभिजन प्रमुख अनिल केसरीले भन्नुभयो ।

डिभिजन प्रमुख केसरीका अनुसार रौतहटको पिपरा खानेपानी आयोजना, गरुढा खानेपानी आयोजना, चन्द्रनिगाहपुर, विजयपुर, लक्ष्मीनियाँ, औराही लगायत खानेपानी आयोजनामा सोलार जडान गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार