बाढीले डुबेका ट्युबवेलको पानी पिउन मिल्छ ? यसो गर्नुहोस्

काठमाडौ : तराइ मधेसमा खानेपानीको भरपर्दो स्रोतको रुपमा रहेका ट्यूबवेलहरु बाढीले डुबे । प्रायः घरलौरी झैं गाडिएका टयुबवेलको पानी यत्तिबेला पिउने कि नपिउने भन्ने ठूलै द्विविधा छ । कतिले भने खानेपानीको विकल्प नहुँदा ट्युबवेलकै पानी पिउन थालेका छन् ।

विज्ञहरुका अनुसार डुबान भएपनि ट्यूबवेलबाट बाहिरको धमिलो तथा दुषित पानी नछिरेको अवस्थामा त्यस्तो ट्युबवेलको पानी परिक्षण गरी पिउन सकिन्छ । ट्युबवेल विग्रिएको छैन, पहिले जस्तै पम्प गर्दा पानी आइरहेको छ र धमिलो पनि नभएको खण्डमा परिक्षण गरी पिउन योग्य भएमा शुद्धिकरण गरी पिउन सकिन्छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटका प्रमुख अनिल केसरी भन्नुहुन्छ ‘डुबान पछि ट्युबवेलको पानी कस्तो अवस्थामा पिउने/नपिउने भन्ने विषयमा सर्वसाधारणले सोधिरहेका छन् र सय फिट भन्दा बढी गहिराइबाट पानी पम्प गरिएको भए पिउँदा फरक नपर्ने बताएका छौं, त्यसअघि हामीले प्रयोगशालामा पानीको परिक्षण पनि गरेका थियौं ।’

उहाँका अनुसार कम गहिराइमा गाडेका टयूबवेलको पानी दुषित हुने भएकाले शुद्धीकरण नगरी पिउन मिल्दैन । खानेपानीको शुद्धता परिक्षणका लागि पानी परिक्षण सामग्री बोकेका भ्यानहरु सहितको प्राविधिक टोली प्रभावित जिल्लामा खटाइएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रभावित जिल्लामा १८ जना इन्जिनियरहरु खटाइसकेकाले पानीको गुणस्तर परिक्षण गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुमा सम्पर्क राख्न सकिनेछ । मन्त्रालयले हालैको बाढी र डुबानबाट तराइका २० हजार ट्युबवेलमा क्षति पुगेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार