काठमाडौ : सरकारले बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरणका लागि ट्याङकर पठाउने भएको छ । ट्याङकर व्यवसायी सँग समन्वय गरी शुुद्धिकरण गरेको पानी वितरण गर्न ११ वटा ट्याङकर पठाइने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित जिल्लाको पानी शुद्धीकरण गरेपछि ट्याङकर मार्फत वितरण गरिनेछ ।
विभागले यसअघि खानीपानीको गुणस्तर परीक्षण तथा शुद्धीकरणका लागि घुम्ती सेवा खटाइसकेको छ । बाढी प्रभावित जिल्लाका २० हजार ट्यूबवेल र इनार प्रदूषित भएकाले सुरक्षित खानेपानीको अभावमा प्रदुषित पानी समेत पिउने सम्भावना भएकाले ट्याङ्कर पठाउन लागेको हो ।
बाढी प्रभावित जिल्लामा पानी शुद्धिकरणका लागि ११ लाख आक्वाट्याब वितरण गरिएको र पानी शुद्धिकरण गर्ने विधि पनि सिकाउने काम भैरहेको महानिर्देशक भट्टले बताउनुभयो ।
उहाँका अनुसार प्रभावित जिल्लामा २/२ जना प्राविधिकले पानी शुद्धिकरण गर्न सिकाइरहेका छन् ।
बाढी जस्ता प्राकृतिक प्रकोपपछि प्रदुषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइट लगायत रोग फैलने भएकाले पानी शुद्धिकरण गरेर मात्र पिउनुपर्नेमा उहाँले जोड दिनुभयो । तराईमा लाखौं मानिस खानेपानीका लागि ट्यूबवेल तथा इनारमा भर पर्दै आएका छन् ।