मुहान विवादले खानेपानी आयोजना अलपत्र

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका – ८ जलजलामा ८८ लाखको लागतमा निर्माणाधीन जलजला खानेपानी तथा सरसफाइ आयोजना अलपत्र परेको छ । हिउँदमा पानीको मुहान सानो हुने र एउटै मुहानको पानी अर्को वडालाई दिंदा आफूहरूलाई समस्या हुने भन्दै वडा नं. १ र २ बासिन्दाले विरोध गरेपछि आयोजना अलपत्र परेको हो ।

वडा नंं ८ मा खानेपानीका लागि ल्याउन लागेको कुसुवा खोलाको मुहानबाट वडा नं. २ का बासिन्दाले कुलो सञ्चालन गरी झण्डै २ हजार रोपनी खेतमा सिँचाइ गर्दै आएका छन् । त्यही खोलाको पानीले वडा १ मा सिँचाइ गर्नुका साथै १५ मेगावाट क्षमताको कुसुवा खोला लघु जलविद्युन आयोजना पनि सञ्चालित छ ।

वडा ८ मा खानेपानी योजना सञ्चालन हुँदा हिउँदमा पानीको घट्ने भएकाले जलविद्युत आयोजना लगायत हिउँदे बाली लगाउन समस्या हुने स्वागत तामाङले बताउनुभयो ।

स्थानीयहरूले वडा नं. ८ का लागि खानेपानी योजना सञ्चालन गर्दा १ र २ का बासिन्दालाई प्रत्यक्ष असर पुग्ने भन्दै क्षतिको विवरण सहित योजना तत्काल रोक्न खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय खाँदबारीमा आवेदन दिएका थिए ।

वडा ८ मा स्थायी बसोबास गर्दै आएका श्रीप्रसाद राईको नाममा रहेको वडा १ को जग्गामा मुहान भएकाले राईले आयोजना निर्माण गर्न स्वीकृत दिएप्छि आफूहरूले ती वडाका केही व्यक्तिसँग मात्र छलफल गरेर निर्माण कार्य सुरु गरिएको आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राईले बताउनुभयो ।

अहिलेसम्म सम्पन्न भएका काम

कुसुवा खोला मुहानदेखि उपभोक्तासम्मको दुरी झण्डै तीन किलोमिटर रहेको छ । आयोजनाले विभिन्न साइजको पाइप समेत खरिद गरिसकेको जनाएको छ । गत आर्थिक वर्षबाटै शुरु भएको आयोजनाले ३० लाख बराबरको सामान खरिद गरेको छ भने २० हजार लिटर क्षमताको पानी ट्यांकी समेत निर्माण गरिएको छ ।

मुहानको विषयमा विवाद भएपछि आयोजना सम्पन्न गर्न समस्या भएको अध्यक्षले राईले बताउनुभयो । आयोजना सम्पन्न भएमा वडा नं. ८ का सय घर परिवारले सुरक्षित खानेपानीको उपभोग गर्न पाउनेछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार