मोरङ : विराटनगरका बासिन्दा नेपाल खानेपानी संस्थानमा खानेपानीको विल तिर्छन् तर आफैले जडान गरेको ट्यूबवेलको पानी उपभोग गर्छन् । खानेपानी संस्थानले वितरण गरेको पनि प्रदुषित हुने भएकाले उनीहरुले संस्थानको पानी भन्दा ट्यूबवेलकै पानी प्रयोग गर्ने गरेका हुन् ।
विराटनगर महानगरपालिका ८ की इन्दु निरौला भन्नुहुन्छ ‘धारामा आएको पानी भाँडाकुँडा र लुगा धुन मात्रै प्रयोग गर्छौ, धारामा १/२ दिन सफा पानी आएपनि फेरि धमिलो र लेदो आउन थाल्छ, त्यसो भएपछि पिउन मनै मान्दैन’
खानेपानी पाइप जताततै फुटेर प्रदुषित भएपछि विराटनगरका खानेपानी उपभोक्ताले संस्थाले वितरण गरेको पानी पिउनै छाडेका हुन् ।
लेदो र धमिलो पानी गइरहेको क्षेत्रको पाइप सफाई गर्न निर्देशन दिइसकेको खानेपानी संस्थान शाखा विराटनगरका निमित्त प्रमुख रत्न प्रसाद राजवंशीले जानकारी दिनुभयो ।
विराटनगरस्थित १० ठाउँबाट पानीको नमूना संकलन गरेर परीक्षणको लागि पठाएको र त्यसको रिपोर्ट नआउञ्जेल धारा र ट्यूवेल जुनसुकैको पानी उमालेर मात्रै खान महानगरबासीलाई आग्रह गरेको उहाँले बताउनुभयो ।
‘संस्थानको अहिले प्रमुख प्राथमिकता खानेपानीको गुणस्तर र आपुर्ति रहेको छ,’ उहाँले भन्नुभयो ‘संस्थानले अर्को सूचना नगरेसम्म विराटनगरबासीलाई उमालेर पानी खान आग्रह गरिएको छ ।’
सुरक्षित पानी वितरण गर्न यसकारण समस्या
विराटनगर महानगरपालिकामा खानेपानी संस्थान स्थापना भएदेखिकै ५० वर्षभन्दा पुरानो संरचना जिर्ण भइसकेको कर्मचारीहरु बताउँछन् । विराटनगरमा ३ सय किलोमिटर लामो पाइप विछ्याएर खानेपानी संस्थानले १२ हजार ५ सय ग्राहकको घरघरमा दैनिक १ करोड २० लाख लिटर खानेपानी आपुर्ति गर्दै आएको छ ।
विराटनगरमा दैनिक १ करोड ५० हजार लिटर खानेपानीको माग छ, तर तर त्यति आपुर्ति गर्न नसकेको खानेपानी संस्थान शाखा विराटनगरका प्रशासन फाँटका वरिष्ठ सहायक लक्ष्मी रेग्मीले बताउनुभयो ।
‘जिर्ण संरचना भएकोले पाइप लिकेज हुने समस्या छँदैछ अर्को प्रत्येक घरघरमा ढल हुँदै धारा गएको र ढलमा रहेको धाराको पाइपको अवस्था उपभोक्ताले जानकारी नराख्ने गरेकोले फुटेर त्यसैबाट फोहोर पानी धारामा गइरहेको हुन्छ,’ रेग्मीले भन्नुभयो ।
आफूहरुले पठाएको पानी शुद्ध भएपनि उपभोक्ताको धारासम्म पुग्दा लिकेज भएको ठाउँहरुमा पानी दुषित हुँदै उपभोक्ताको धारामा पुग्दा फोहोर हुने कर्मचारीहरु बताउँछन् ।
बाढी आएपछि माटो कमसल भएको र त्यस्तो अबस्थामा सडकमा गुड्ने अत्याधिक भार क्षमताका सवारी साधनले खानेपानीको पाइपहरुमा प्रेसर पर्दा च्यापिने र फुट्ने गरेको कर्मचारीहरु बताउँछन् ।
धरान रोड लगायतको सडकमा शुरुमा खानेपानीको पाइप सडकको किनारमा भएपनि सडक विस्तारसँगै पाइपबीच भागमा परेको र वर्षेनी सडकको उचाई बढदै जाँदा खानेपानीको पाइप जमिनको धेरै गहिराइमा पुगेकाले मर्मत गर्न पनि समस्या भएको उनीहरुको भनाइ छ ।