काठमाडौ : सरकारले बाढी प्रभावित जिल्लामा सुरक्षित पानी वितरणका लागि पठाउने भनिएको ट्याङकर अन्तिम चरणमा आएर नपठाउने निधो गरेको छ ।
प्रभावित जिल्लामा खटिएका इञ्जिनियर तथा रसायनशास्त्रीहरुको अनुगमनले खानेपानीको गुणस्तर सुध्रिदै गएको प्रतिवेदन दिएपछि खानेपानी तथा ढल निकास विभागले ट्याङकर नपठाउने भएको हो ।
यस अघि खानेपानी तथा ढल निकास विभागले ट्याङकर व्यवसायी सँग समन्वय गरी डीप बोरिङ मार्फत वितरण गरिरहेको पानी प्रभावित क्षेत्रमा वितरण गर्न ११ वटा ट्याङकर पठाइने जनाएको थियो ।
‘हामीले सुनसरी, सप्तरी तथा बर्दिया लगायतका जिल्लामा डीप बोरिङ गरिएको पानी अस्थायी शिविरहरुमा वितरण गर्न ट्याङकर पठाउने भनेका थियौं, मौसम सुधार हुदै गएकाले बाढी प्रभावित आ–आफ्नो घर फर्किसकेकाले ट्याङकरबाट पानी वितरण गर्नु व्यवहारिक पनि नदेखिएकाले हामीले नपठाउने निधो ग¥यौं’ खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिल कुमार दासले भन्नुभयो ।
सुनसरी र बर्दियाका लागि १० हजार बोतल पानी
खानेपानी तथा ढल निकास विभागले बाढी प्रभावित जिल्लामा ट्याङकर नपठाएपनि १० हजार बोतल प्रशोधित पानी पठाएको छ ।
विभागले सुनसरीका लागि ५ हजार बोतल र बर्दियाका लागि ५ हजार बोतल पानी पठाएको उपमहानिर्देशक सुनिल कुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीका लागि पठाएको पानी बर्दिबास पु¥याएको छ । विभागले बाढी प्रभावित जिल्लामा खानेपानी शुद्धिकरणका लागि क्लोरिन पर्याप्त मात्रामा पठाएकाले खानेपानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ ।
खानेपानीको गुणस्तरमा कुनै शंका लागेमा खानेपानीको गुणस्तर परीक्षण गर्न उपमहानिर्देशक दासले आग्रह गर्नुभयो ‘बाढी प्रभावित जिल्लामा खानेपानी परीक्षणका लागि घुम्ती टोली खटिएका छन्, टोलीलाई खानेपानी परीक्षण गर्न दिई आफूले पिउने पानीको गुणस्तर सुनिश्चित गरेर मात्र पिउनुहोस्’ उहाँले भन्नुभयो ।
खानेपानी तथा ढल निकास विभागबाट बाढी प्रभावित जिल्लामा खटिएका १७ जना इञ्जिनियरहरुले खानेपानीको गुणस्तर परीक्षण, खानेपानी शुद्धिकरण गर्ने तरिका, ट्यूबवेल र इनार सफाइ गर्ने तरिका लगायत विषयमा प्रशिक्षण दिइरहेका छन् ।