चापाकलको दुषित पानीले रौतहटका बाढी प्रभावित विरामी पर्न थाले

रौतहट: रौतहटको दक्षिणी क्षेत्रका बाढीपीडित बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । राति परेको शीत र डुबानमा परेको चापाकलको दूषित पानी पिउनाले बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाको फतुवा विजयपुर नगरपालिकाका रामएकवाल रामको परिवारका सबै सदस्य बिरामी छन् । उनीहरू डुबानमा परेका चापाकलको दूषित पानी पिउन बाध्य छन् । बाढीले घर भत्कायो, सातासम्म परिवारले त्रिपाल अभावमा खुला आकासमै रात बिताए । अहिले परिवारका सबैलाई टाउको दुख्ने, रुघाखोकी, ज्वरोको समस्या छ ।

विभिन्न संघसंस्थाको सहयोगमा चिकित्सक संघ काठमाडौंले गरेको स्वास्थ्य शिविरमा परिवारै जँचाएको उनले बताए । उनको परिवार मात्र होइन, टोलका डेढ सयभन्दा बढी पीडित बिरामी परेका छन् । ज्वरो निको नभएपछि स्थानीय गम्हीरा दासले १० वर्षीय छोरा धर्मेन्द्रलाई स्वास्थ्य शिविरमा पुर्‍याए । स्थानीय साझादेवीलाई ज्वरो आएको एक साता भयो ।

गाउँमा बिक्री हुने सिटामोल औषधि खाइन् । ‘औषधि खाँदा ज्वरो हट्ने, छाडेपछि फेरि आउने गर्छ,’ उनले भनिन् । सामान्य ज्वरो, रुघाखोकी लाग्दा गाउँका सबैले पसलबाट औषधि किनेर खाने गरेको उनले बताइन् । 

जिल्लाका फतुवा विजयपुरका विभिन्न टोल, कटहरिया आसपासका गाउँ, लौकाहा, नरकटिया, राजपुर, महादेवपट्टी, ब्रह्मपुरी, गैरीगाउँलगायत स्थानका सर्वसाधरणमा ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने जस्ता समस्या देखा पर्न थालेको स्थानीयले बताएका छन् । सातायता नेपाल, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा जिल्लाका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । पीडितहरू उपचारका लागि सहरी क्षेत्रमा पुग्न नसके पनि शिविरमा उपचार पाएको स्थानीयले बताए ।

शिविरमा सामान्य औषधि उपचार पाएका बाढी पीडितलाई हैजाको महामारीबाट जोगाउन थप सचेत गराउनुपर्ने अहिले मुख्य आवश्यकता रहेको चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए । ‘बाढी प्रभावित परिवार दूषित पानी खान बाध्य छन्,’ उनले भने, ‘उनीहरूलाई तत्कालै सचेत गराउनुपर्‍यो ।’ बाढीले बस्ने घर, शौचालय, पानीको मुहान सबै बिगारेको अवस्था छ । सबभन्दा बढी दूषित पानीले रोग निम्त्याउने गरेको पाइएको उनले बताए ।

सरुवा रोगको प्रकोप 

बाढी प्रभावित पर्साका अधिकांश गाउँ र बस्तीमा सरुवा रोगको प्रकोप देखिएको छ । अधिकांश गाउँमा अझै औषधिउपचारको व्यवस्था भएको छैन । स्थानीय आफैं सदरमुकाम आएर उपचार गराउने अवस्थामा छैनन् ।

समस्या विकराल बन्दै गएको छ । डेढ सातायता जिल्लाका २० भन्दा बढी गाउँमा राहत सामग्री लिएर पुगेका सामाजिक अभियन्ता प्रकाश थारूले आफू पुगेका अधिकांश गाउँमा झाडापखाला, भाइरल ज्वरो, रुघाखोकी, छालाका रोगको प्रकोप फैलिएको बताए । 

‘स्थानीयलाई उपचारको व्यवस्था आवश्यक भइसकेको छ,’ उनले भने, ‘सरोकारवाला निकायले समयमै ध्यान नदिए यसले विकराल रूप लिन सक्छ ।’

जिल्लाको भक्रा मसिहानी, मधुवाहा, धर्मपुरलगायतका गाउँमा समस्या बढी देखेको उनले बताए । सुत्केरी, गर्भवती, अपांग, ज्येष्ठ नागरिकको बिजोग रहेको उनले बताए । विभिन्न स्वास्थ्य शिविरमा खटिएका नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक उदयनारायण सिंहले शिविरमा आउने करिब ८० प्रतिशतमा कुनै न कुनै स्वास्थ्य समस्या रहेको बताए ।

बुधबार खेस्राहामा करिब ५ सय स्थानीयको स्वास्थ्य परीक्षण गरिएकोमा ८० प्रतिशत रोगी पाएको उनले बताए । बालबालिकामा ज्वरो र रुघाखोकी, बयस्कमा रुघाखोकी र पखाला, ज्येष्ठ नागरिकमा रुघा र छालाका रोगहरू बढी पाइएको उनले बताए ।

केहीलाई आँखाको समस्या पनि देखिएको छ । दूषित पानी खानाले तथा मौसम परिवर्तन हुने क्रममा भाइरल संक्रमण बढेको उनले बताए । जगरनाथपुरको स्वास्थ्य शिविरमा पनि यस्तै समस्या आफूले पाएको उनले बताए । बाढी प्रभावित जिल्लाका अधिकांश गाउँमा यो समस्या रहेको उनले बताए । 

प्रभावित क्षेत्रमा टोली

प्रभावित क्षेत्रमा प्रकोपको खतरा ख्याल गर्दै बारा र रौतहटमा ‘क्विक रेसपोन्स’ स्वास्थ्य टोली परिचालन गरिएको छ । जिल्लाका प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण भइरहेको छ । बारामा बाढीको पानीले चापाकल, ट्युबबेल, धारा लगायत मुहानसमेत डुबानमा परेका थिए ।

सर्वसाधारणलाई कीटाणुबाट जोगाउन खानेपानी तथा सरसफाइ डिभिजन र रेडक्रस सोसाइटीले पानी शुद्ध बनाउन औषधि वितरण थालेका छन् । यहाँ प्रभावित क्षेत्रमा छाला, आँखा र कान पाक्ने समस्या देखिएको छ ।

ज्वरो र झाडापखाला देखिएकाले निगरानी बढाइएको हो । विद्यालय र समुदायलाई लक्षित गरी सेवाप्रदायक सामाजिक संस्थालाई दुईदिने प्रशिक्षण चलाइएको छ । ‘पानी शुद्धीकरणका लागि ‘क्लोरिन झोल’ मुहानमा हाल्ने काम सुरु गरिएको छ,’ रेडक्रस सोसाइटी बाराका प्रमुख उदय नेपालले भने, ‘खुला दिसामुक्त तथा सरसरफाइसम्बन्धी कार्यरत सेवाप्रदायक संस्थासित समन्वय गरी प्रदूषणविरुद्ध जुटेका छौं ।’ कोल्हवी क्षेत्रको अडेम्वामा समान्य भाइरल भए पनि तत्कालै स्वास्थ्य टोली परिचालनपछि समान्य भएको उनले बताए । कान्तिपुर दैनिकबाट । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार