पम्पिङ गरेर खानेपानी पु-याएपछि रोकियो, बसाइँ सराइ

रामेछाप : रामपुरकी दीपाकुमारी घिसिङको परिवार पाखोबारी बाँझै छाडेर बसाइँ सर्ने योजनामा थियो । कारण– खानेपानीको चरम अभाव । तर, डाँडागाउँमा आइतबार खोलाको पानी लिफ्ट गरेर झारिदिएपछि उनीहरू अहिले गाउँमै खुसी छन् ।

खानेपानी योजना बनेपछि बसाइँ सर्ने तर्खरमा रहेका अरू गाउँले पनि रोकिएका छन् । ‘पानी आउँदैनथ्यो त यो गाउँमा बस्न सक्ने अवस्था नै थिएन,’ शिक्षक रामदास वाइवाले भने, ‘केहीले तराईतिर जग्गाजमिन पनि हेरिसकेका थिए तर आइतबारको पानीले जन्मथलो छोड्न दिएन ।’

केही दिनमात्र भयो, रामपुरमा आइतबारको पानी झरेको । झन्डै एक घण्टा तलको आइतबार खोलाको पानी बिजुलीको सहयोगमा पम्पिङ गरेर डाँडागाउँ पुर्‍याइएको छ । 

४० हजार लिटर क्षमताको ट्यांकीबाट १ सय ४९ परिवारलाई खानेपानी वितरण गरिएको छ । रेडक्रसका अनुसार उक्त योजनाबाट झन्डै १ हजार २ सय जनाले खानेपानीको उपभोग गर्नेछन् । खानेपानी पुगेपछि स्थानीय महिला वर्षौंदेखिको सास्ती अन्त्य भएकामा खुसी छन् । शनिबार नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले समुदायलाई योजना हस्तान्तरण गरेका हुन् । 

खानेपानीसँगै शौचालयको पनि प्रबन्ध भएपछि गाउँलाई खुला दिसामुक्त घोषणा गरिएको छ । घोषणाका लागि गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ शनिबार रामपुर पुगेका थिए । 

‘पानीका लागि के सम्म दु:ख बेहोरिएन,’ मानकुमारी श्रेष्ठले भनिन्, ‘अब ती दिन कहिल्यै देख्नु र भोग्नु नपरोस् । पानी जुटाउन रातभरि पँधेरामा बिताउने गरेका थियौं, त्यो दु:ख अहिले भगवान्ले हेरिदिए ।’

खानेपानी अभावमा गाउँले बसाइँ हिँड्ने तर्खरमा पुगेका बेला भूकम्पपछिको पुन:स्थापनाका लागि रामपुरमा टोली खटाएको नेपाल रेडक्रस सोसाइटीले डाँडागाउँमा खानेपानी पुर्‍याउन सहयोग गरेको हो । लिफ्ट योजनाका लागि करोडौं खर्च लाग्ने भएकाले स्थानीय आफैंले स्रोत जुटाउन सकेका थिएनन् । योजनामा १ करोडभन्दा धेरै खर्च भएको रेडक्रसले जनाएको छ । यसका लागि स्थानीयले लगातार एक वर्ष श्रमदान गरेका थिए ।

‘खानेपानी योजना बनाउन स्थानीयको श्रम र पसिनाको लेखाजोखा नै छैन,’ वाइवा भन्छन्, ‘पानी आउँछ भनेपछि हामी जस्तो पनि श्रम गर्न जुट्यौं ।’ रेडक्रस र समुदायले खानेपानीको दिगो व्यवस्थापन र यससँग सम्बन्धित अन्य क्रियाकलापमा मिलेर काम गरेका छन् । 

भूकम्पपछिको पुनर्निर्माणमा पनि डाँडागाउँका बासिन्दा सँगसँगै छन् । रेडक्रस जिल्ला शाखा मार्फत पुनर्निर्माण, स्वास्थ्य र सरफाइ, खानेपानी र जीविकोपार्जनका विभिन्न क्रियाकलाप सञ्चालित छन् । रामपुरमा अन्य आयोजना पनि निर्माण चरणमा रहेको रेडक्रस जिल्ला सभापति शिवकुमार कार्कीले बताए । कान्तिपुर दैनिकबाट


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार