अक्वा ट्याब्लेट थन्क्याएर दुषित पानी पिउँदा विरामी

बाँके : होलियाका रामनेवाज कोरीको घरभित्रै मान्छे डुबाउने बाढी पस्यो । घरको आगनमा रहेको धारा पनि डुबायो । कोरीको परिवारले त्यही धाराको पानी खाइरहेका छन् । ६ जनाको परिवार रहेका कोरीको सबैजना बिरामी नै छन् । दुषित पानीका कारण कोरी परिवार बिरामी भएका हुन् । त्यसो त कोरीलाई पानी सफा गर्ने अक्वा ट्याब्लेट नदिइएको पनि होइन । उनले त्यसलाई भने प्रयोग गरेका थिएनन् ।

‘हामीले यही धाराको पानी खान्छौं । पानीले हो कि होइन थाहा छैन । घरका सबै परिवार बिरामी नै छौं, कोरीले भन्नुभयो, अक्वा ट्याब्लेट भनेको थाहा छैन ।’ स्थानीय महिला स्वयंसेविका कुश्मा बर्माले अक्वा ट्याब्लेट दिएको विषयमा बताउदा थाहा नभएको भन्दै मुन्टो हल्लाएका कोरीकी श्रीमतीले भने घरभित्रबाट ट्याब्लेट ल्याएर दिनुभयो । महिला स्वयंसेविकाले जस्तो दिएको थिइन्, उस्तै गरी त्यसलाई घरभित्र राखिएको थियो ।

पाँच लिटर पानीमा एक ट्याब्लेट हाल्नु पर्छ भन्नेसम्म थाहा पाएर पनि स्थानीय छुहारा तेलीले अक्वा ट्याब्लेट प्रयोग गर्नु भएको थिएन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जनस्वास्थ्यमार्फत पानी सफा गर्न उपलब्ध गराएको अक्वा ट्याब्लेट स्थानीयले भने प्रयोग गरेको पाइएन । त्यहाँ पियुस पनि दिइएको थियो । त्यो पनि प्रयोग भएको पाइएन ।

बाढीले डुबाएको धाराको पानी सफा नगरी खाने, शौचालयमा नभई बाहिरी दिसा गर्ने गरिएकाले होलिया, बेतहनीमा धेरै मानिस बिरामी परेका छन् । डुडुवा गाउँपालिकाको एक नम्बर वडामा पर्ने होलिया र दुई नम्बर वडामा पर्ने बेतहनी राप्ती नदीबाट वर्षेनी पीडित हुने ठाउँ हो ।

सरसफाईमा धेरै पछाडी रहेको यी वडाका स्वास्थ्य चौकीमा अहिले पनि सय बढी बिरामी दैनिक आउने गरेका खबर नेपाल समाचार पत्रमा छापिएको छ । होलिया स्वास्थ्य चौकीमा सोमबार एक सय २६ जना बढी बिरामी आएका थिए । बाढीपछि दिनमा २ सय ८८ जनासम्म आएको सिनियर अहेव जयलाल उपाध्यायले जानकारी दिनुभयो । बेतहनी पनि सोमबार एक सय आठ जना बिरामी आएका थिए । यो स्वास्थ्य चौकीमा २ सय ५० जनासम्म दिनमा आएका छन् ।

भाइरल ज्वरो, रुघाखोकी, आँखा पाक्ने, श्वासप्रश्वास र छालाका संक्रमण भएका बिरामी आइरहेका छन् । झाडापखालाका बिरामी नआउनुलाई सुखद पक्षका रुपमा लिइएको छ । स्वास्थ्य चौकीमा टाढाटाढाबाट आएका स्थानीयले आफूसँगै घरका अरु बिरामीका लागि पनि औषधी लगिरहेका थिए । राप्तीले घेरिएको छोट्की चौफेरीबाट स्वास्थ्य चौकीमा आएका राजु राढले आफूसँगै आमा र बुवाका लागि औषधी लिएर गएका थिए । ‘घरका अरु पनि बिरामी छन् भनेर औषधी मागेर लैजान्छन्, दिएन भने झगडा गर्छन्, एक स्वास्थ्यकर्मीले दुःखेसो पोखे ।

होलिया स्वास्थ्य चौकीमा २०७१ को बाढीका क्रममा भदौमा एक हजार ६ सय बिरामी आएका थिए । यसपाली पनि त्यो रेकर्डमा पुग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य चौकीमा भाइरल ज्वरोसँगै इन्फेक्सन हुँदा दिने सिफ्रो ५०० र इमोक्सी, भिटामिन बी कम्प्लेक्स सिधिएको छ ।

बाढीले डुबाएको धाराको पानी सफा नगरी खाने, शौचालय बाहिर गर्ने भएकाले डुवान क्षेत्रमा बिरामीको संख्या घट्ने छाँट देखिएको छैन । होलिया र बेतहनीमा रुखाघोकी र ज्वरो नआएका कमै देखिन्छन् ।  जनस्वास्थ्य र प्लान नेपालले अक्वा ट्याब्लेट प्रयोग भए/नभएकोबारेमा सोमबार स्थलगत अनुगमन गरेको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार