पाँचथरको ५ गाविसमा ११ खानेपानी योजना सम्पन्न

पाँचथर : पाँचथरमा ११ वटा खानेपानी योजना सम्पन्न भएका छन् । साविकका ५ वटा गाउँ विकास समितिमा ती खानेपानी योजना सम्पन्न भएका हुन् । साबिक आङना ७ र ९ मा रहेको तामेभीर खानेपानी योजना, आङना– ३ मा रहेको जुनतारा खानेपानी योजना, इम्बुङ– १ मा इम्बुङ खानेपानी योजना, आरुबोटे– २ को ढोडेखोल्सी छाराङगे मुहान खानेपानी योजना, आरुबोटे– ७ को गौरीगाउँ खानेपानी योजना सम्पन्न भएका हुन् ।

यस्तै आरुबोट– ८ मा रहेको आरुबोटे खानेपानी योजना, ताबाखोला खानेपानी योजना लिम्बा ६, कम्फुखोला खानेपानी योजना लिम्बा– ७, लुम्लेफा खानेपानी योजना लिम्बा–४, गैरीधारा खानेपानी योजना दुर्दिम्बा– ४ मा रहेको धारेडाँडा खानेपानी योजना सम्पन्न भएको सिरिजंगा ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक त्रिभुवन शेर्माले बताउनुभयो ।

कार्यक्रम संयोजक शेर्माका अनुसार ती सबै आयोजनाका लागि गरिबी निवारण कोष नेपालको १४ करोड, ६७ लाख ४ सय ३४ रुपैयाँ र उपभोक्ताको ६ करोड, ३३ लाख ८९ रुपैयाँ खर्च भएको छ ।

११ वटा खानेपानी योजनाबाट साविकका ५ वटा गाउँविकास समितिका ५ सय ५५ घरधुरीका २ हजार ७ सय ७८ जना लाभान्वित भएका छन । गरिबी निवारण कोष कार्यक्रमको ८० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत श्रमदानबाट खानेपानी योजना सम्पन्न भएका हुन् ।

खानेपानी योजना सम्पन्न भएपछि उपभोक्ता खुसी भएका छन् । पहिले १ घन्टा लगाएर कुवा र पँधेराबाट खानेपानी बोकेर ल्याउने गरेका स्थानीय बासिन्दा घरआँगनमै धारा बनेपछि खुसी भएका हुन् ।

खानेपानीको धारा निर्माण भएपछि अब कुवा र पँधेरो धाउनुपर्ने बाध्यता हटेको ढोडेखोल्सी छाराङगे मुहान खानेपानी योजना आरुबोटे– २ का सचिव जीवनकुमार फियाकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार