धनुषाको ३ गाविसमा ५ वटा खानेपानी योजना शुरु

धनुषा : धनुषाको साबिकका तीन वटा गाउँ विकास समितिमा ५ वटा खानेपानी योजना सञ्चालन हुन लागेको छ । बनिनियामा दुर्गा खानेपानी तथा सरसफाइ आयोजना र सरस्वती खानेपानी तथा सरसफाइ आयोजना, धवौलीमा चमपावती खानेपानी तथा सरसफाइ आयोजना र एकराहीमा मुडिवा खानेपानी तथा सरसफाइ आयोजना र एकराही खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको हो ।

ती पाँच वटै खानेपानी आयोजनाको निर्माण शुरु भइसकेको समाज उत्थान युवा केन्द्रका सरसफाइ इन्जिनियर श्याम कुमार साहले जानकारी दिनुभयो ।

ती सबै आयोजनाका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितिले ३ करोड ३९ लाख ५३ हजार ३ सय ७६ रुपैयाँ र उपभोक्ताको ४४ लाख १२ हजार १ सय २६ रुपैयाँ खर्च हुनेछ । उपभोक्ताले व्यहोर्नुपर्ने ४४ लाख १२ हजार १ सय २६ रुपैयाँ मध्ये ६ लाख २९ हजार २ सय २१ रुपैयाँ उपभोक्ताको नगद लगानी रहेको छ ।

सबै खानेपानी योजनाबाट १ हजार २ सय ५० घरधुरीका ८ हजार ३ सय ४६ जना लाभान्वित हुनेछन । ती गाविसहरुमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितिको आर्थिक सहयोग र समाज उत्थान युवा केन्द्रको सहजीकरणमा खानेपानी सञ्चालन हुन लागेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार