डोटी : डोटीका ५० प्रतिशत सामुदायिक बिद्यालयमा खानेपानीको अभाव रहेको छ । डोटीका आधारभुत तहका ३१३ र माध्यामिक तहका ७५ गरी ३८८ सामुदायिक बिद्यालय मध्ये १ सय ९६ विद्यालयमा मात्र खानेपानीको सुविधा भएको जिल्ला शिक्षा कार्यालय डोटीले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय डोटी र सिडिएम नेपालको संयुक्त आयोजनामा ‘डोटीका बिद्यालयहरुको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था’ विषयक छलफल कार्यक्रममा जिल्लाभर आधा विद्यालयमा मात्र खानेपानीको राम्रो सुविधा भएको जिल्ला शिक्षा कार्यालय अन्तर्गतको दिपायल श्रोतकेन्द्रका स्रोतव्यक्ति लक्ष्मीराज ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाभर ७१ हजार तीन सय ७३ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये ३६ हजार ८८ छात्रा छन् । ओझाका अनुसार पानी शुद्धीकरण गरेर वितरण गर्ने बिद्यालयको जम्मा १२ प्रतिशत छ । १६ बिद्यालयमा मात्रै बालबालिकाले शुद्धिकरण गरेको पानी पिउन पाउँछन् । ७८ प्रतिशत बिद्यालयहरुमा पानीको स्रोत पहिचान भएको भएपनि योजना निर्माण गर्न नसकिएको ओझाले बताए ।
खानेपानीको अभाव हुँदा बिद्यालयमा भएका शौचालय समेत प्रयोग भएका छैनन् । डोटी जिल्ला खुल्ला दिशामुक्त घोषणा भईसके पनि अझै पाँच बिद्यालयमा शौचालय नभएको पाइएको छ ।
महिनावारी हुँदा सेनेटरी प्याड फेर्न मिल्ने स्कुल १७ वटा मात्र
डोटीका १७ वटा विद्यालयमा मात्र महिनावारी हुँदा सेनेटरी प्याड फेर्न मिल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘बिद्यालयमा छात्र भन्दा छात्राहरुको संख्या बढी छ, छात्राहरुका लागि महिनावारी हुँदा सेनेटरी प्याड फेर्ने र यथोचित विसर्जन गर्न मिल्ने सुविधा सहितको शौचालय कमै मात्र छन्’ जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्यालले बताउनुभयो । उहाँका अनुसार ९२ प्रतिशत बिद्यालयमा मात्रै छात्र र छात्राका लागि शौचालयको छुट्टाछुट्टै व्यवस्था छ ।
जनचेतनाको अभावका कारण बिद्यालयमा सरसफाइको व्यवस्था मिलाउन समस्या भएको कार्यक्रमका सहभागीले बताएका छन् । ‘शौचालय बनाइएका छन, तर शौचालयलाई नियमित सरसफाइ गरेर प्रयोग गर्नुभन्दा एक पटक प्रयोग गरेर फोहोर बनाएपछि बाहिर तिर जाने गरेकै बढी भेटिन्छ’ जिल्ला शिक्षा अधिकारी पौड्यालले भन्नुभयो । सामान्य मर्मतका कामहरुमा पनि अभिभावकले चासो नदेखाउँदा धेरै बिद्यालयमा खानेपानीको समस्या रहेको उहाँले बताउनुभयो ।


781 पटक हेरिएको 

