महोत्तरी : महोत्तरी गाउँपालिकाको वडा नं. २ गुनरापुरामा एउटा मुसहर बस्ती छ । सदरमुकामबाट उत्तरतिर पर्ने मुसहर बस्तीमा ४० घरको बसोबास छ । घरको तीन जनाको हिसाबले पनि मुसहर बस्तीमा सय भन्दा बढी मतदाता छन् । तर अघिपछि भोट माग्न पुग्ने दलका नेता यसपटक मुसहर बस्ती छिरेका छैनन् ।
नयाँ मानिस गाउँमा देख्ने वित्तिकै भोट माग्न आएका हुन् कि भन्ने लाग्छ रे गुनरापुराका बासिन्दालाई । ‘हामीले अरुको हलो कोदालो नगरी खान पाउने होइन, जसलाई भोट हाले पनि सुख पाइने होइन, तैपनि केही माग गरौंला भनेर हामी गाउँलेले नै सल्लाह गरेका छौं’ मुसहर बस्तीका निरादेवी सदाले भन्नुभयो ।
२०६४ सालमा माओवादी उम्मेदवारले सबै समस्या पूरा गरिदिन्छौं भन्ने सम्झिदै निरादेवीले भन्नुभयो ‘पहिले माओवादी आए त्यसपछि २०७० सालमा काँग्रेसले पनि सबै समस्या पूरा गरिदिने भनेर आयौ तर भोट लिएर मात्र गयो, फर्केर चाहिं कहिल्यै आएनन् ।’
चर्पी र सामुदायिक भवन बनाइदिनेलाई भोट
भोट माग्न आउनेलाई चर्पी माग्ने उनीहरुको योजना छ । चर्पी नबन्दा तीन वर्षदेखि मुसहर बस्तीका एक जनाले पनि नागरिकता पाउन सकेका छैनन् ।
नागरिकता बनाउन पनि घरमा चर्पी भएको सरसफाइ कार्ड आवश्यक परेकाले आफूहरुले चर्पी माग्ने योजना बनाएको रामविलास सदाले बताउनुभयो । ‘कार्ड देखाए मात्र प्रशासनले नागरिकता दिने नियम बनाएको छ, यहाँका ४० भन्दा बढी युवायुवतीसँग नागरिकता छैन । कति त बूढाबूढी भइसकेका सँग समेत नागरिकता छैन’ सदाले भन्नुभयो ।
उहाँका अनुसार मुसहर बस्तीका ४० घरमध्ये तीन घरमा मात्रै चर्पी छ ।
‘चर्पी नभई नागरिकता दिदैन, नागरिकता नहुँदा हामी सबै सुविधाबाट वञ्चित भएका छौं, देवु सदा भन्नुहुन्छ बाढीको राहत बाँडदा पनि नागरिकता खोजियो । तर नभएकाले राहत पाएनौं, त्यसैले चर्पी बनाइदिनेलाई हामी भोट दिन्छौं’ देवी सदाले भन्नुभयो ।
चर्पी नहुँदा मुसहर बस्तीका बालबालिकाले जन्म दर्ता गर्न पाएका छैनन् । विवाह दर्ता पनि रोकिएको छ । उनीहरुको अर्को माग छ, बस्ती छेउमा सामुदायिक भवन बनाइदिनुपर्ने । विवाह र चाडपर्वमा पाहुना राख्ने ठाउँ नभएकाले सामुदायिक भवन बनाइदिन पहिले पनि माग राखेको रामविलास सदाले बताउनुभयो ।
अधियाँ खेती र मजदुरीबाट जीवन धान्दै आएका मुसहर बस्तीका आधाजसो पुरुष भारतको पञ्जावमा मजदुरी गर्छन् ।