जनकपुरधाम : स्थानीय तह चुनावको सरगर्मीकै बीच धनुषाको साविक गिद्धा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । स्थानीय बासिन्दा चुनावमा होमिएकै बेला साविकको गिद्धा गाविस, हाल विदेह नगरपालिका ६ लाई आइतबार भव्यताका साथ खुला दिसामुक्त घोषणा गरिएको हो ।
गाउँ स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समित (भिवाससिसि) का अनुसार गिद्धाका १ हजार २७ घरमै वाटरसील प्यान सहितको सुरक्षित चर्पी निर्माण भएपछि खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
सरसफाइ अभियान शुरु हुनु अघि २ सय ९२ घरमा मात्र चर्पी रहेको गिद्धामा अभियानको क्रममा ७ सय ३५ घरमा नयाँ चर्पी निर्माण गरिएको छ ।
जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) का अध्यक्ष तथा प्रमुख अतिथि सन्तबहादुर सुनारले वडा सचिव युवराज मगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभयो ।
समारोहमा विशिष्ट अतिथि डिवाससिसिका कार्यदल संयोजक विजय कुमार यादवले खुल्ला दिसामुक्तको प्रतिक मानिने हरियो झण्डा फहराउनु भएको थियो ।
खुल्ला दिसामुक्त घोषणा गर्न रातदिन खटेर महत्वपूर्ण काम गरेकोमा भिवाससिसि गिद्धाका कार्यदल संयोजक दुःखी मण्डल लगायत दर्जनौ अभियानकर्मी सम्मानित भएका छन् । उनीहरुलाई डिवाससिसि र भिवाससिसिले कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा डिवाससिसिका कार्यदल सदस्य तथा युनिसेफका वास अफिसर राकेश मल्लिक, यूएन ह्याविट्याटका जिल्ला संयोजक डिवाससिसि सदस्य उमा सिम्खडा, समाज विकास पथ नेपालका अध्यक्ष डा.सुरेन्द्र लाभ, सोडेपका कार्यकारी निर्देशक सत्यनारायण साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
खुला दिसामुक्त घोषणा समारोहमा भिवाससिसिका पदाधिकारी, स्थानीयबासी, नागरिक समाज, समाजसेवी, महिला समूह, युवा क्लव, बालबालिकाहरुको उपस्थिति थियो ।
गिद्धामा जि.एस.एफ/यू. एन. ह्याविट्याट सँगको साझेदारी र भिवाससिसिको अगुवाईमा समाज विकास पथ नेपालले सरसफाइ अभियान चलाएको हो ।


1058 पटक हेरिएको 

