राजबिराज : नेकपा एमालेको तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले आफूलाई जिताए शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने संकल्प गर्नुभएको छ ।
१०१ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै उहाँले राजविराज नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने, नगरभित्रको फोहोर उज्यालो नहुँदै उठाइने र त्यसको उचित व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संकलित फोहोरलाई कुहिने र नकुहिने बर्गीकरण गरी पुनःउपयोग तथा जैविक मल बनाउने लगायत प्रविधि भित्र्याउने बताउनुभयो ।
‘प्रत्येक वडामा स्वच्छ पानी, प्रत्येक वडामा पाँच शय्याको सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य सेवा केन्द्रको स्थापना, प्रत्येक नागरिकको स्वास्थ्य बीमा, अस्पताल, औद्योगिक क्षेत्र, सडकको स्तरोन्नति, कृषकलाई लक्षित गरी चिस्यान केन्द्र र बीउ बैंकको स्थापना, कृषि सडकहरुको निर्माण र विस्तार, कृषि ऋणको व्यवस्था, कृषकलाई मलखादमा ५० प्रतिशत र गृहिणीहरुलाई खाना पकाउने ग्यासमा प्रति सिलिण्डरमा ५० प्रतिशत अनुदान दिइने उम्मेदवार यादवको संकल्प पत्रमा उल्लेख छ ।
खाद्यान्न गोदामको स्थापना, नगर क्षेत्रमा वार्षिक एक लाख वृक्षरोपण, सबै वडामा वातावरण क्लबको गठन, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, सुविधा सम्पन्न बसपार्कको निर्माण तथा पाँच वर्षभित्र नगरका सबै वडालाई चक्रपथसँग जोडिने यादवले बताउनुभयो ।
सुखराम यादव संघीय समाजवादी फोरम नेपाल पार्टी त्याग गरी गएको जेठ १५ गते एमालेमा प्रवेश गर्नुभएको थियो ।