काठमाडौ : दशैंमा घर जान टिकट लिन नयाँ बसपार्क पुगेकाहरुको भीडमा दुई जना युवाहरु अलग्गै बसेर एक आपसमा गन्थन गरिरहेका थिए । विषय थियो काठमाडौको नयाँ बसपार्कको सफा चर्पी । पाल्पाका दिपेश श्रेष्ठ र स्याङजा गल्याङका आशिष पुलामी भन्दै थिए ‘बसपार्कको शौचालय पनि यत्ति सफा ।’ हरेक बर्ष दशैंको बेला टिकट लिन मात्र पुग्ने ती दुई युवा यसपटक पनि बर्षदिन पछि मात्र नयाँ बसपार्क पुगेका रहेछन् । बर्षदिनमा नयाँ बसपार्कको चर्पी र आसपासको वातावरण देखेपछि चकित भएर दुवै जना यसैका विषयमा कुरा गर्न थालेका रहेछन् ।
‘पोहोर साल आउँदा त यस्तो थियो नि ? बाहिर घाममा लाइनमा उभिएर बसेको मानिस दिसापिसाब गर्न जाँदा चर्पीमा पस्न जाँदा त्यहाँको गन्धले ढल्थ्यो, तर यसपाली यस्तो रहेनछ’ चर्पीको विषयमा कुरा गरिरहेका मध्येका दिपेश श्रेष्ठले भन्नुभयो ।
‘यहीका मानिस होला ? पक्कै विदेशबाट ल्याएको त होइन होला ? प्रयास गर्दा त हुँदो रहेछ नि ? यो कुनै पाँच तारे होटेलको चर्पी भन्दा फरक लागेन’ स्याङजा गल्याङका आशिष पुनले थप्नुभयो ।
यी दुई युवाको दृष्टिमा मात्र होइन, नयाँ बसपार्क पहिलेभन्दा धेरै सुध्रिएको बसपार्क पुग्ने सबैले भन्न थालेका छन् । बसपार्कको चर्पी पहिले भन्दा धेरै सफा भएको र बाहिर पनि पहिले जस्तो फोहोर नभएको कास्की याङ्जाकोटकी सुमित्रा गुरुङले बताउनुभयो ।
‘बसपार्कभित्र पहिले जस्तो छरिएका टहराहरु पनि छैनन्, पहिले जस्तो फुटपाथमा व्यापार गर्नेहरु पनि छैनन्, तुलनात्मक रुपमा पहिलेभन्दा बसपार्क सफा लाग्यो’ सुमित्राले भन्नुभयो ।
यसरी फेरियो नयाँ बसपार्कको रुप
गोंगबु बसपार्क सञ्चालनको जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले लिएको छ । कम्पनीले नयाँ बसपार्कमा रहेका अव्यवस्थित टहराहरु हटाएर त्यस ठाउँमा बगैँचाहरु समेत बनाउन थालेको छ ।
नयाँ बसपार्कलाई काठमाडौंकै सुविधा सम्पन्न बसपार्क बनाउने योजना रहेको ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का कार्यकारी अध्यक्ष दीपक कुँवरले बताउनुभयो ।
कुल १ सय ६१ रोपनीमा फैलिएको बसपार्कमा दैनिक ३० जना सफाइ मजदुरले नियमित सफा गर्छन् । बसपार्क भित्रका सबै ठाउँलाई सफा राख्न सबैतिर चौबीसै घण्टा सफाइ मजदुर खटाएको अध्यक्ष कुँवरले बताउनुभयो । ल्होत्से बहुउद्देश्यीय प्रा.लि.ले बसपार्क हाता भित्रबाट अतिक्रमण गरेर बनाइएका ५ सय टहरा समेत हटाइसकेको छ ।
बसपार्क भित्र धेरै पूर्वाधार विकासका कामहरु पनि भइरहेको र प्रविधिको पनि उच्चतम प्रयोग गरिने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण, सञ्चालन र हस्तान्तरण प्रणाली अन्तर्गत अबको २८ वर्षपछि यी सबै संरचना सरकारलाई हस्तान्तरण गरिनेछ ।