धादिङ : खानेपानी संकटका कारण बेनीघाट रोराङ गाउँपालिका–२ को ब्रुसबाङ गाउँका चेपाङ समुदाय बस्ती नै अन्यत्र सर्ने सोचमा पुगेका छन् ।लामो समयदेखिको खानेपानी समस्या समाधान हुने नदेखेपछि उनीहरूले बस्ती नै सारिदिन जिल्लाका सरोकारवाला निकायसँग माग गरेका हुन् ।
समुद्री सतहबाट एक हजार आठ सय ४५ मिटर उचाइमा रहेको बु्रसबाङमा ३६ घर चेपाङको बसोबास छ । ब्रुसबाङसम्म पुग्न पृथ्वी राजमार्गको मलेखु बजारबाट एक दिनको पैदल यात्रा गर्नुपर्छ । गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन भने विद्यालयको नाममा बाल विकासको एउटा कक्षा सञ्चालनमा छ।
गाउँमा खानेपानीको चरम अभावपछि दैनिक जीवनयापनमा त्यसको प्रत्यक्ष असर परेको छ । पाखोबारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने उक्त गाउँमा खानेपानी समस्याले बालबालिकाको शिक्षादीक्षा, खेतीपाती र पशुपालनमा ठूलो समस्या निम्त्याएको छ ।
‘गाउँभन्दा धेरै तल खानेपानी लिन जानुपर्ने बाध्यता छ’, स्थानीय सूर्यमाया चेपाङले भनिन्, ‘एक गाग्रो पानी लिनका लागि आउन–जान चार घन्टाभन्दा बढी समय लाग्छ ।’ एकजनाले दिनमा एक गाग्री मात्र पानी जोहो गर्न सकिने भएकाले घरपालुवा जनावरलाई तीन÷चार दिनको अन्तरमा चराउन लगेका बेला पानी खुवाउने गरेको उनले सुनाइन् ।
स्थानीयले हरेक वर्ष कात्तिकदेखि पुससम्म खोरियाबारी खनेर मकैखेती गर्छन् । बाली पाक्न ६ महिना लाग्छ । ‘वर्षमा एक बाली मकै लगाइन्छ, त्यसको उब्जनीले चार महिना खान पुग्छ’, स्थानीय टेकबहादुर चेपाङले भने, ‘मकैबाहेक अरू खेतीपाती गरौं भने पेटभरि पानी खान त पाइएको छैन कसरी सम्भव हुन्छ र ? पानीकै समस्याले गर्दा अन्य खेतीपाती गर्न सम्भव नभएपछि वर्षको आठ महिनाजति त गिठ्ठा, भ्याकुरको भर पर्नुपर्ने हुन्छ ।’ बु्रसबाङ खाद्य अधिकार समूहका अध्यक्षसमेत रहेका प्रेमबहादुरले भने, ‘हाम्रा बालबालिकाले पढ्न पाएका छैनन्, आधारभूत शिक्षा लिन पनि चार घन्टा ओहोरदोहोर गर्नुपर्छ ।’
सन्तानले शिक्षादीक्षा र राम्रा अवसर पाउँछन् भनेर गाउँ छाड्न राजी भएको उनले बताए । भने, ‘अब हामीलाई सरकारले उचित व्यवस्थापन गरिदिनुपर्छ ।’उक्त वडामा खुला दिसामुक्त क्षेत्र अभियानका क्रममा विभिन्न संघर्सस्थाले बनाइदिएका शौचालयसमेत पानी अभावमा प्रयोगविहीन रहेको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
स्थानीयका लागि खाद्य अधिकारको वकालत गर्दै आएको फियान नेपालका राजेन्द्र बस्नेतले भने, ‘बु्रसबाङका चेपाङले अहिलेसम्म धित मर्ने गरी पानी त खान पाएका छैनन् भने शौचालयको प्रयोग कहाँबाट हुनु !’
स्थानीयले वर्षौंदेखि भोग्दै आएको समस्यालाई सरोकारवाला सरकारी निकायहरूमा जानकारी गराउँदा पनि सुनुवाइको पहल नभएपछि बाध्य भएर गाउँ नै अन्यत्र सारिदिन पहल गरेको नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले बताए । भने, ‘३६ घरपरिवारका लागि सडक, स्वास्थ्य, शिक्षा र खानेपानीमा गर्ने लगानीले त्यो ठाउँको बस्ती नै सार्न पुग्ने भएकाले हामी अहिले बस्ती सार्ने अभियानमा लागेका छौं ।’
खानेपानी समस्या समाधानका लागि धादिङका तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले एक करोड ४० लाख रुपैयाँ विनियोजन गरिदिएका थिए । तर, सम्भाव्यता अध्ययनका क्रममा गाउँमा कतैबाट पनि खानेपानी लैजान सम्भव नदेखिएपछि उक्त रकम गाउँकै अन्य योजना निर्माणमा खर्च भएको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालले पनि उक्त ठाउँमा कुनै पनि प्रविधिले खानेपानी र सडक बनाउन नसक्ने अवस्था रहेकाले त्यहाँको बस्ती नै सार्ने योजनामा रहेको बताए ।
उक्त क्षेत्रका सांसद राजेन्द्र पाण्डेले चेपाङ समुदायका लागि नयाँ बस्ती बसाउन उपयुक्त स्थानको खोजी भइरहेको बताए । भने, ‘केही जग्गासहित आवास, शौचालय, खानेपानी, बिजुली, स्कुल र स्वास्थ्य सेवाको व्यवस्थासहित बस्ती स्थानान्तरणको पहल भइरहेको छ । स्थानीय पनि पनि बस्ती सार्न राजी भएकाले अब छिट्ट समाधान निक्लन्छ ।’


1064 पटक हेरिएको 

