ललितपुर : लगनखेल थती टोलका सन्नी देउलाको घरको धारामा पानी नआएको महिना दिन बढी भइसक्यो । उनले गत साता ट्यांकर व्यवसायीसँग १२ हजार लिटरको ‘क’ वर्गको खानेपानी किन्दा ४ हजार रुपैयाँ तिरे ।
‘पानी व्यवसायीलाई महँगो पर्यो भनेर गुनासो गर्दा उल्टै अबदेखि पानी नपुर्याउने भनी धम्की सुन्नुपर्यो,’ उनले भने, ‘छिमेकीले किनेको देख्दा मैले पनि किनें ।’ इमाडोलका राजेश बज्रचार्यलाई पानी व्यवसायीले ‘ख’ वर्गको ७ हजार लिटरको पानी किन्दा २ हजार ५ सय रुपैयाँ लिए । ‘टाढाबाट पानी ल्याउनुपर्ने भएकाले महँगो परेको भन्छन्,’ उनले भने, ‘ट्यांकर व्यवसायीले तोकेको मूल्य नतिरी सुखै छैन ।’
देउला र बज्राचार्य प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै ट्यांकर व्यवसायीले आफूखुसी पानीको मूल्य लिँदा दैनिक हजारौ सर्वसाधारण मर्कामा परेको खबर कान्तिपुर दैनिकले छापेको छ । खानेपानी महसुल निर्धारण आयोगले ट्यांकरको पानीको मूल्य निर्धारण गरेको छ ।
५ हजार क्षमताको ‘क’ वर्गको पानीको मूल्य दूरी हेरेर एक हजार ७ सयदेखि एक हजार ९ सय रुपैयाँँसम्म, ‘ख’ को एक हजार ५ सयदेखि एक हजार ७ सय र ‘ग’ को एक हजार ३ सयदेखि एक हजार ५ सय रुपैयाँ पर्छ । ७ हजार क्षमताको ‘क’ को २ हजार २ सयदेखि २ हजार ५ सय, ‘ख’ को एक हजार ९ सय देखि २ हजार २ सय, ‘ग’ को एक ७ सयदेखि एक हजार ९ सय रुपैयाँ पर्छ । १२ हजार लिटरको ‘क’ वर्गको ३ हजार १ सयदेखि ३ हजार ४ सय, ‘ख’ को २ हजार ७ सयदेखि ३ हजार १ सय र ‘ग’ को २ हजार ४ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म तोकेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ५, ७ र १२ हजार लिटरको क्रमशस् १ हजार ९ सय ९५, २ हजार ३ सय र ३ हजार १ सय ५५ रुपैयाँ लिने गर्छ । तर ट्यांकर व्यवसायीले सर्वसाधारणसँग तोकिएको मूल्यभन्दा २५/३० प्रतिशतभन्दा बढी मूल्य लिने गरेको आरोप छ । गुणस्तर वा मापदण्ड तोकिए बमोजिम प्रदान भए, नभएको अनुगमन गर्ने काठमाडौं उपत्यका खानेपानी बोर्डको जिम्मेवारी हो । बोर्डले प्रत्येक साता अनुगमन गर्ने गर्छ । अनुगमन क्रममा पानीको मूल्य प्रचलित कानुन बमोजिम निर्धारण भएको महसुलभन्दा बढी भएको गुनासो आउने गरेको बोर्डका अधिकारीहरू नै बताउँछन् ।
काठमाडौं उपत्यका खानेपानी बोर्डका इन्जिनियर बोधराज दाहालले कार्यालयमा लिखित रूपमा उजुरी दर्ता नगरीकन मौखिकका भरमा कारबाही गर्न नमिल्ने बताए । ‘हामी पनि उजुरीको पर्खाइमा हो,’ उनले भने ।
ट्यांकर सेवा सञ्चालन सम्बन्धी निर्देशिका, ०७३ अनुसार पिउन योग्य खानेपानी नीलो रङ ‘क’ वर्ग, घरायसी प्रयोजनको पानी ९सामान्य घरेलु प्रशोधन गरेर वा उमालेर पिउन मिल्ने पानीमा हरियो रङ ‘ख’ र पिउनबाहेक अन्य प्रयोजनको पानी ९भान्साको प्रयोग बाहेक सरसफाइ, घर निर्माण लगायत कार्यमा पहेंलो रङलाई ‘ग’ वर्ग तोकिएको छ । उपत्यकामा ५ वटा ट्यांकर व्यवसायी छन् । सातदोबाटो, स्वयम्भू, कीर्तिपुर, बालाजु, जोरपाटी र मातातीर्थ अन्तर्गत ५ सयभन्दा बढी पानी बोक्ने ट्यांकर छन् ।


768 पटक हेरिएको 

