इञ्जिनियर बन्न नसकेका यादव, खानेपानी तथा सरसफाइ मन्त्री

काठमाडौ : धनुषाको मध्यमवर्गीय परिवारमा जन्मिएका महेन्द्र यादवको चाहना इन्जिनियर बन्ने थियो । त्यसैअनुरूप उनले आइएस्सीमा फिजिक्स लिएर पास गरे । तर, आफ्नो प्रयास र तत्कालीन कांग्रेस कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईको प्रयास असफल भएपछि उनको बाटो मोडियो र राजनीतिज्ञ भए ।

इन्जिनियर बन्न नपाए पनि उनी पहिलोपटक नै मन्त्री बन्दा इन्जिनियरसँग काम गर्नुपरेको छ । खानेपानी तथा सरसफाइमन्त्री यादवसँग पत्रकार मधुसुधन भट्टराईले गरेको अन्तररंग कुराकानीलाई आजको नयाँ पत्रिकाले मध्यपृष्ठमा छापेको छ । 

तीन स्कुल परिवर्तन

मेरो स्कुले जीवनमा तीनचोटि स्कुल परिवर्तन भयो । धनुषाको बनिगामा गाउँ, हालको लक्ष्मीनिया गाउँपालिका वडा नं ३ मा जन्मिएको मैले सिनुर जोरा विद्यालयमा कक्षा तीनसम्म पढे । त्यसपछि ४ देखि ७ कक्षासम्म लक्ष्मीनिया बजारस्थित जनता माध्यमिक विद्यालय (त्यसवेला निम्नमाध्यमिक)मा अध्ययन गरेँ ।

८ कक्षादेखि एसएलसीसम्मको अध्ययन जनकपुरको सरस्वती माध्यमिक विद्यालयमा गरेँ । म पढाइमा तेज थिएँ । त्यसैले प्रायः सधैँ प्रथम भइरहन्थेँ । प्राथमिक तहमा प्रथम, निमावि तहमा द्वितीय र माध्यमिक तहमा पनि प्रथम भएँ ।

इन्जिनियर बन्ने चाहना

०३७ सालमा फस्र्ट डिभिजनमा एसएलसी पास गरेँ । मेरो चाहना इन्जिनियरिङ पढ्ने थियो । दाजु मलाई डाक्टर बनाउने जोडमा हुनुहुन्थ्यो । तर, मलाई डाक्टर बन्ने चाहनै थिएन ।

दाजुले एमबिबिएस पढ्नका लागि आइएस्सीमा बायोजोली लिनुपर्छ भन्नुहुन्थ्यो । तर, मैले नमानेर आइएस्सीमा इन्जिनियर पढ्नका लागि आवश्यक पर्ने फिजिक्स लिएँ । जनकपुरको आरआर क्याम्पसमा भर्ना भएँ ।

०४० सालमा आइएस्सी पास गरेँ । त्यसवेला इन्जिनियरिङ पढ्नका लागि शिक्षा मन्त्रालय र नेपालस्थित भारतीय दूतावासमा फर्म भरेर छात्रवृत्तिमा नाम निकाल्नुपथ्र्याे ।

सबैले भारतमा इन्जिनियरिङको अध्ययन गुणस्तरीय भएको बताइरहने हुनाले मलाई पनि त्यहीँ गएर पढ्ने इच्छा थियो । त्यसकारण भारतीय दूतावासमा र शिक्षा मन्त्रालयमा ‘इन्ट्रान्स’ फारम भरेँ । छात्रवृत्तिमा मेरो नाम निस्किएन । भारतीय दूतावासले विशेषगरी कांग्रेसका नेताहरूको सिफारिसका आधारमा भारतमा अध्ययनका लागि पठाउने गर्दथ्यो ।

किसुनजीले भन्दा पनि नाम निस्किएन

१० कक्षा अध्ययन गर्दा स्कुलमा म कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी युनियन (नेविसंघ)को अध्यक्ष भइसकेको थिएँ । आइएस्सी पढ्दा साइन्स फ्याकल्टीबाट नेविसंघबाटै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएँ ।

नेविसंघको धनुषा अध्यक्ष पनि भएर काम गरिरहेकाले तत्कालीन समयका कांग्रेसका कार्यबाहक सभापति नेता कृष्णप्रसाद भट्टराईसँग आफूले भारत गएर इन्जिनियर पढ्न चाहेको बताएँ ।

उहाँको सिफारिसमा तत्कालीन नेविसंघमा आबद्ध विद्यार्थीहरू भारतमा इन्जिनियरिङ र डक्टर पढ्न गएको थाहा पाएर मेरो पनि भइहाल्छ कि भनेर आग्रह गरेको थिएँ ।

मैले आग्रह गरेपछि किसुनजीले ‘बाबु तपार्इंको पढाइ राम्रो छ, म भारतीय राजदूतावासमा सिफारिस गरिदिन्छु । कल्चरल स्कलरसिपमा तपार्इं भारतमा इन्जिनियरिङ अध्ययन गर्न जान पाउनुहुन्छ’ भन्नुभयो । तर, दुई वर्षसम्म पर्खिंदा पनि मेरो नाम निस्किएन ।

त्यसपछि राजनीतिमा लागेँ

कति पर्खिनू ? पर्खिंदा–पर्खिंदा यता न उताको भइन्छ कि भन्ने डर लाग्यो, मलाई । अनि ०४५ मा जनकपुरमै बिएस्सीमा भर्ना भएँ । बिएस्सी भर्ना भएलगत्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघबाट सभापति बनेँ । त्यसवेला स्ववियु सभापतिको क्रेज नै ठूलो थियो । देशमा प्रजातन्त्र आइनसकेकाले राजनीतिक दलहरूले स्ववियुमार्फत आफ्ना धारणा जनतामा पुर्‍याउँदथे ।

पञ्चायती व्यवस्थामा कांग्रेसका नेतालाई प्रजातन्त्रका लागि लडेको भन्दै जनताले सम्मानका साथ हेर्दथे । जनताका नजरमा कांग्रेस नेताहरू पञ्चायतविरोधी र प्रजातन्त्रका पक्षपाती हुन्, राजाको विरोधी, लडाकू र स्वाभीमानी हुन्छन् भन्ने छाप परेको थियो । तसर्थ म पनि नेविसंघबाट स्ववियु सभापति भएकाले इज्जतै अर्कै थियो । त्यही इज्जतमा मन भुल्यो र इन्जिनियर बन्ने सपना भुलेँ ।

अझ त्यसमाथि स्ववियुमा जितेपछि काठमाडौंको चाक्सीबारीमा ०४५ मा भएको नेविसंघको महाधिवेशनमा जनकपुर अञ्चलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएँ । अध्यक्ष बालकृष्ण खाण बन्नुभएको थियो । नियमितमै बिएस्सीको अध्ययन पूरा गरेँ । ०४८ सालमा बुटवलमा भएको अधिवेशनबाट नेविसंघको अध्यक्षमा एनपी साउद र उपाध्यक्षमा म निर्वाचित भयौँ, त्यसपछि राजनीतिको रस पस्यो । इन्जिनियरिङ पढेर इन्जिनियर बन्ने, अन्य जागिर खाने विषय मेरो मनबाट बिस्तारै हट्दै गए ।

तरुण दलको अध्यक्ष बनेँ

नेविसंघको उपाध्यक्ष बनेपछि मलाई राजनीतिमै रस पस्यो । म राजनीति गरेरै जीवन बिताउँछु भन्ने मुडमा पुगेँ । उपाध्यक्षको हैसियतमा संगठन निर्माणका लागि विभिन्न स्थानमा पुगेँ ।

०५४ मा तरुण दलको पुनःस्थापना गरी कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाणलाई अध्यक्ष बनाउनुभयो । सो समितिमा मलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइयो । पुनर्गठित तरुण दलको महाधिवेशनबाट म उपाध्यक्षमा निर्वाचित भएँ । त्यसपछि चितवनमा भएको महाधिवेशनबाट अध्यक्ष बनेँ ।

तरुण दलको अध्यक्ष भएको र आफू जनतामा भिजेकाले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको टिकट माग गरँे । तर, तत्कालीन कांग्रेस महामन्त्री र अहिलेका पूर्वराष्ट्रपति डा. रामवरण यादवले ‘तिमी छोड्देऊ, म निर्वाचन लड्छु’ भनेर आग्रह गर्नुभयो । आफ्ना अग्रजले गरेको आग्रह नकार्न सकिनँ ।

भित्री हृदयदेखि नै सहयोग गरेर उहाँलाई निर्वाचनमा जिताइयो । त्यही संविधानसभाको समानुपातिकतर्फबाट पार्टीले मलाई सांसद बनायो । सांसद नै भएका वेला ०६७ मा भएको कांग्रेसको १२औँ महाधिवेशनमा म मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएँ ।

०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फबाट टिकट माग गरेँ । क्षेत्रीय समिति, जिल्ला समितिले मेरै नाम सिफारिस गरेको थियो । निर्वाचित केन्द्रीय सदस्य र समानुपातिक तर्फको सांसदसमेत भएकाले मेरो दाबी स्वाभाविक पनि थियो ।

तर, तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको जोडबलमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा प्रा.डा. चन्द्रमोहन यादवलाई टिकट दिइयो । म फेरि पनि समानुपातिकतर्फबाट सांसद बनेँ । ०७२ फागुनमा भएको कांग्रेसको १३औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएँ।

इन्जिनियरलाई चलाउने मन्त्री बनेँ

मेरो अन्तरआत्मामा इन्जिनियर बन्ने चाहना थियो । त्यहीअनुरूपको प्रयास पनि गरेको थिएँ । तर, भाग्यले साथ दिएन । खासमा मान्छेको आफ्नो चाहनाले मात्रै केही नहुँदो रहेछ । जे भयो, मलाई अहिले गर्व लागेको छ, किनकि आफू इन्जिनियर बन्न नसके पनि पहिलोपटक मन्त्री बन्दा इन्जिनियरहरूले सम्हाल्ने मन्त्रालयको नेतृत्व गर्न पाएको छु ।

इन्जिनियर भएको भए जागिरमा नै ध्यान जान्थ्यो, त्यतै व्यस्त भइन्थ्यो होला । त्यसमाथि मध्यम परिवारको व्यक्ति भएकाले पैसा कसरी कमाउने र परिवार पाल्ने संघर्षमै लाग्नुपर्दथ्यो । राजनीति गर्नेतर्फ सोच्नसमेत भ्याइँदैनथ्यो होला ।

यद्यपि, इन्जिनियर भएको भए, प्राविधिक ज्ञान पनि जानेकाले सशक्त तरिकाले चलाउन सकिन्थ्यो होला । प्रविधिक ज्ञान नभए पनि नीति निर्माण र नेपाललाई आवश्यक पर्ने नीति कस्तो बनाउनुपर्छ भन्ने ज्ञान लामो राजनीतिक यात्रामा मैले हासिल गरेकाले अप्ट्यारो भएको छैन ।

तर, इन्जिनियर भएर मन्त्री भएको भए टेक्निकल टर्महरू बढी जानकारी हुन्थ्यो । तर, पनि साइन्स ब्याकराउन्डको भएकाले मन्त्रालय चलाउन सजिलै भएको छ । सिक्दै काम गर्दै छु । पहिलोपटक मन्त्री हुँदा काम गर्न चुनौतीपूर्ण हुने रहेछ । साथीभाइ र कर्मचारीको साथ र सहयोगका कारण सफल हुने आशा छ ।

राजनीतिक उद्देश्य बाँकी छ

जुन उद्देश्य बोकेर राजनीतिमा लागेको थिएँ, त्यो पूरा गर्न अझै धेरै बाँकी छ । गर्नुपर्ने काम धेरै बाँकी छन् । म मात्र होइन, अग्रज नेताहरूले पनि पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्न सकिरहनुभएको छैन ।

नेपालमा अहिलेसम्म राजनीतिक लडाइँ जारी थियो । देशमा लोकतान्त्रिक शासन व्यवस्था कसरी स्थापित गर्ने भन्नेमै राजनीतिक दलहरू लागिरहेका थिए ।

त्यही सिलसिलामा थुप्रैपटक मैले जेलको वास भोग्नुपर्‍यो । अहिले संविधानसभामार्फत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको दिशामा हामी अघि बढिरहेका छौँ ।

संविधानमा समेटिएको संघीय व्यवस्था नेपालका लागि नयाँ हो । यसलाई कार्यान्वयनमा ल्याउनु वास्तवमै चुनौतीपूर्ण छ । अहिलेसम्मको केन्द्रीकृत व्यवस्थाले दलित, जनजाति, सिमान्तकृत अल्पसंख्यक, पिछडिएका जनताको स्तर उकास्न सकेन ।

मुलुकको विकास गर्न सकेन । अबको संघीय व्यवस्थालाई कार्यान्वयनमा लगेर मुलुकलाई विकासको दिशामा अघि बढाउनुपर्छ । समृद्धिको ढोका खोल्नेतर्फ हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ । राजनीतिक जीवन त्यसका लागि समर्पित गर्ने मेरो चाहना र प्रतिबद्धता हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार