जो, बँगुरलाई दिएको पानी खाएर बाँचे …………..

ढापेन तामाङ : पानी प्रशस्त भएको बेला जीवित प्राणीका लागि खानेपानीको महत्व कति छ भन्ने कुरा खासै थाहा नहुने रहेछ । पानी प्राण हो भन्ने कुरा मैले त्यत्तिबेला मात्र थाहा पाएँ, जत्तिबेला बुँगुरलाई दिएको फोहोर पानी पनि बटुकाले उप्काउदै खाएर बाँचे ।

कुरा २०७२ वैशाखको १२ गतेको भूकम्प पछिको हो । भूकम्पले मेरो नुवाकोटको भाल्चेमा रहेको घर पनि लडायो । दुनियाँको घर लड्यो तर मेरो त श्रीमती पनि घरले थिचेरै मृत्यु भयो । एकातिर श्रीमती घरले छोपेको पीर, अर्कोतिर पानी खान नपाएर मेरो ओठ, आँत सबै सुकेको थियो ।

के गर्ने त ? पानीको अभावमा मर्ने बेला भइसक्यो । चारैतिर पहिरै पहिरो । पाइपबाट ल्याएको पानी टुटेर आउन छाडेको थियो । सधैं पानी आइरहने भएपछि भाँडामा थापेर राखेको पनि थिएन । यसो हेरेको बरु बुँगुरलाई दिएको ड्रममा पानी देखें । प्राण बचाउन मैले त्यही बुँगुरलाई दिएको पानी खाने निधो गरें ।

मैले बुँगुरले खाएको पानी खाएर म चार दिन बाँचें । मैले खानु त कुनै नौलो थिएन । किनकि म त बुँगुर पालक भएँ, तर अघिपछि बुँगुर पालेको छेउमा आउँदा नाक थुनेर आउने, छिछि भन्ने मान्छेहरुले समेत बँगुरलाई दिएको पानी खाएर ज्यान बचाए ।

हेर्नुहोस् ! प्राण बचाउनका लागि त मानिसले दिसा मिसाएको पानी, पिसाब मिसिएको पानी पनि नभन्ने रहेछ । बुँगुरले खाएको पानी कस्तो थियो होला ? कल्पना गर्नुहोस् त ? बुँगुरको मुख चोबेको पानी ?

हो त्यही पानी पिउँदै मैले स्वास्नी खोज्दै गरें । ढुंगा माटोको घर खोतल्दै स्वास्नी खोज्दै गरें, दोस्रो दिनमा स्वास्नी मृत अवस्थामा भेटियो । पानी नभएपछि खाना पकाउने कुरै थिएन, तातो खाना नपाएपछि बँगुरलाई दिएको पानीको भरमा म चार दिन सम्म बाँचे, पछि जनजीवन अलि सहज हुन थालेपछि पाँचौं दिनमा नुवाकोटको इन्द्रायणी चौरमा आएँ । अहिले सम्म पनि म यही बसिरहेको छु ।

इन्द्रायणी अस्थायी शिविर नै स्वर्ग सरी

पहिलेको दुःख सम्झिँदा अहिले त स्वर्ग जस्तै लाग्छ । अहिले त पानी पनि नियमित रुपमा आउँछ, शुरु शुरुमा राहत पाएर टन्न खाएका हामी अहिले आफ्नै पौरखले खाइरहेका छौं । तर कतिपय साथीहरु अहिले पानीको राम्रो बन्दोबस्त भएन भनेर गुनासो गर्छन् । म चाहिं भन्छु हिजो हामी बुँगुरलाई दिएको पानी समेत पिउने मानिसका लागि यो स्वर्ग सरह छ ।

त्यसैले भएकालाई राम्रो सँग उपभोग गर्नुपर्छ भन्ने हो मेरो मान्यता । बँगुर त छिछि गन्हाउँछ किन पालेको भन्नेहरुले बुँगुरलाई दिएको पानी समेत पिएर बाँचे, फेरि अहिले चाहिं राम्रो चाहिने रे ! मानिसको जातलाई जति राम्रो नभए पनि नहुँदो रहेछ ।

झन् सुविधा सम्पन्न हुँदै गयो झन् राम्रो र स्तरीय चाहिने रे, तर यसलाई नै नियमित रुपमा उपभोग गर्न पाएँ भने मेरा लागि चाहिं यही नै काफी छ । किनकि म त बुँगुरले खाने फोहोर पानी पिएर बाँचेको मान्छे हुँ नि ।

अब यसरी सुधार गरौं

हामी बसिरहेको इन्द्रायणी अस्थायी शिविरमा त्रिशुली नदी पारिबाट पानी ल्याएर वितरण गरिएको छ । त्रिशुली जल विद्युत आयोजनाको लागि बनाएको नहरबाट शिविरसम्म पानी ल्याएर हामीलाई वितरण गरिएको छ ।

नहरको पानी धमिलो हुने हुनाले शिविरको दुई ठाउँमा बायोस्याण्ड फिल्टर जडान गरेर सुरक्षित पानी वितरण गरिरहेको छ । तर यसलाई व्यवस्थित बनाउन जरुरत देख्छु ।

खानेपानी बेला बेलामा आउँदैन । जलविद्युत आयोजनाले नहर सफाइ गर्दा पानी सुक्दो रहेछ । कहिले त महिनाको चार पटक सम्म पानी अवरुद्ध हुन्छ । त्यत्तिबेला हामी नहरमा गएर बाल्टिनले पानी हाल्न जानुपर्छ । फेरी त्यो एकदमै खतरापूर्ण छ । त्यहाँबाट खस्यो भने बाँच्ने सम्भावना छैन ।

त्यसैले पानी बनाउन को गयो ? फर्केर आयो कि आएन भनेर सोधिरहनु पर्छ । खुट्टा चिप्लिएर नहरमा खस्यो भने त मानिसको ज्यान जाने सम्भावना छ । त्यसैले पानी बनाउन जाने मानिसले सुरक्षाको उपाय अपनाउनु प-यो । त्यो उपाय डोरी बाँध्ने अर्थात भ-याङको व्यवस्था गर्ने लगायत हुन सक्छ ।

तर त्यो स्रोत साधन हामी सँग छैन । त्यसो गर्न सक्यो भने हामीले नियमित पानी खाइरहन पाउँथ्यौं, अनि पानी बनाउन जाने मानिसको पनि सुरक्षित हुन्थ्यो ।

भूकम्पबाट नुवाकोटको भाल्चेबाट विस्थापित भएर अहिले नुवाकोटको विदुरनगरपालिका, इन्द्रायणी चौर अस्थायी शिविरमा बस्दै आएका ढापेन तामाङसँग प्रसन्न तामाङले गरेको कुराकानीमा आधारित


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार