
बाँके : बाँकेको मनिकापुर बस्तीकी कौशिला खड्काले यसअघि न रोपपम्प भनेको सुन्नुभएको न देख्न नै पाउनुभएको थियो । तर अहिले चर्खा घुमाए झैं घुमाएर पानी भर्नुहुन्छ । रोप पम्प डोरीको सहायताले पानी तान्ने प्रविधि हो ।
शुरुमा रोप पम्प प्रयोग गर्न समेत नआएपछि पानी लिन आएका कतिपय मानिस पानी नलिई घर फर्किन्थे, तर जब यसको प्रयोग गर्ने विधि सिके, त्यसपछि सबैले पानी भर्न जानेका छन् । मनिकापुरकी नन्दकली रोक्का भन्नुहुन्छ ‘पहिलेको ट्यूबवेलबाट पानी तान्दा निक्कै बल लगाउनुपथ्र्यो, पानी तान्दा तान्दै हातमा ठेला समेत उठ्थ्यो, तर हिजोआज साना केटाकेटी च्यापेर समेत पानी भर्न सकिन्छ ।’
पानी तान्नका लागि बल चाहिएकाले बुढाबुढीले पानी तान्नै सक्दैनथे, पानी भर्नका लागि आएका बुढाबुढी बल नपुगेपछि रित्तै घर फर्केनुपर्ने हुन्थ्यो, नन्दकली रोक्का विगत सम्झिदै भन्नुहुन्छ ‘रोपपम्प जडान गर्नुअघि पानीको यत्ति अभाव झेल्यो भन्ने सुनाएर साध्यै छैन ।
पानीको अभावका दिनहरु सम्झिँदा अहिले मलाई आँशु आउँछ, ढाड खुइलिने गरी बोकेको छु, यो दुःख कसलाई सुनाउ र खै’
रोपपम्प जडान गरी पानी तान्न थालेपछि मनिकापुका बासिन्दाको कष्टको दिन हटेको उनीहरु बताउँछन् । सहकर्मी समाज बाँकेको आर्थिक तथा प्राविधिक सहयोगमा बाँकेको मनिकापुरमा रोपपम्प निर्माण गरिएको हो ।


839 पटक हेरिएको 

