महिनावारी हुँदा घरमै बस्ने ४७ महिला सम्मानित

बझाङ : महिनावारी भएको बेला घरमै बस्ने बझाङका ४७ जना महिलालाई सम्मान गरिएको छ । आज (बुधबार) महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले दोसल्ला ओडाएर सम्मान गरेको व्यवहार परिवर्तन परियोजना कार्यक्रम संयोजक भरत अधिकारीले बताउनुभयो ।

संस्थाले घट्टेबगरका १२ जना महिला, बेडालका १२, गिरसयल, मौभेरा, खातीगाँउ, नुवापानीका ३/३ जना, भाटगाउँ र असिसैनका २, सेरागाउँका ६ र चौरका १ जना महिलालाई सम्मान गरेको हो ।

महिनावारी भएको समयमा दूध दही नखाने, पशु चौपाया छुन नहुने र छाउ गोठमा बस्नुपर्ने कुप्रथा भएपनि उनीहरु घरमै बसेकाले सम्मानित गरिएको तल्कोट गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल बहादुर धामीले बताउनुभयो ।

उहाँले छाउपडी र महिला हिंसा विरुद्ध तल्कोट गाउँपालिका–१ सुनिकोटले पनि विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘गाउँपालिका तथा हाम्रो वडाले पनि महिला हिंसा विरुद्धका कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएका छौं, आशा छ, यस्ता कार्यक्रमहरुले छाउपडी प्रथा र कुरीति अन्त्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

वडा अध्यक्ष धामीले छाउगोठ त्यागेर घरमै बस्दा महिनावारी सरसफाइमा ध्यान जाने र यसले महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार