हामीले भोट दियौं अब छाउपडी प्रथा हटाइदिनुपर्छ : अछामका महिला मतदाता

अछाम : मीनादेवी खड्का महिनावारी हुँदा पनि घरमै बस्नुहुन्छ । अछामको मेल्लेख गाउँपालिका ६ का मीना घरमै बसेपछि गाउँलेले भने उहाँ विरुद्ध अनेकथरि कुरा गर्थे ।

उहाँको श्रीमान कुल बहादुर खड्का शिक्षक हुनुहुन्छ । उहाँका श्रीमान्ले पनि मीनालाई सधैं घरभित्रै बस्न प्रेरित गर्नुहुन्थ्यो । तर श्रीमती घरमै बस्दा गाउँका मान्छेले भने नराम्रो दृष्टिकोणले हेर्थे ।

मेल्लेख ६ की मन्सरा देवी खड्का महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । खड्का पनि महिनावारी हुँदा घरैमा बस्नुहुन्छ । खडका र मीना देवी जस्ता अरु महिला पनि छन् तर घरमा बस्ने भन्दा छाउगोठमा बस्ने महिला बढी भएकाले घरभित्र बस्ने महिलालाई त्यत्ति राम्रो रुपमा हेर्दैनन् ।

महिनावारी हुँदा घरमै बसेको थाहा पाएपछि गाउँका अरु महिलाले धारामा पानी पधेरो गर्दा पनि चोख्याएर पानी ल्याउनुपर्ने नियम समेत बनाएका छन् ।

छाउपडी कुप्रथाले अझै जरो गाडेर बसेको अछाममा छाउ हुँदा घरमै बस्ने महिलालाई अहिले पनि राम्रो नजरले हेर्दैनन् । छाउपडी कुप्रथा हो भन्ने सबैले बुझे पनि महिलाहरुले यो कुप्रथा विरुद्ध डटेर सामना गर्ने आँट गर्न सकेका छैनन् ।

आफूहरुले भोट हालिसकेपछि समाजमा रहेका यस्ता बिकृति बिसंगति र कुरीतिको अन्त्य गर्नुपर्ने अछामका महिलाहरु बताउँछन् ।

छाउ हुँदा घरमै बस्दा समाजबाट अपहेलित हुनुपरेका मीना देबी खड्का र मन्सरा देवी खड्काले अब यो चुनावबाट जित्ने जो कोही नेताले सबैभन्दा पहिले छाउपडी कुपथ्राको अन्त्यका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । ‘छाउपडीका कारण महिलाहरु कति धेरै पछि परेका छन्, तर अझैै पनि यो कुप्रथालाई अंगाल्ने धेरै छन् अब यस विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ’ मन्सरा खड्काले भन्नुभयो ।

महिलाको हक अधिकारका लागि आफूहरु प्रतिबद्ध रहेको बताउने नेताहरुले अब भाषण भन्दा काम गर्नुपर्ने अछामका महिलाहरु बताउँछन् । ‘एकै बर्षमा स्थानीय तहको चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा भोट हाल्यौं, अब नेताहरुले पैंचो स्वरुप छाउपडी अन्त्यका लागि पहल गर्नुपर्छ’ मन्सरा देवी खड्काले भन्नुभयो ।

अहिले पनि छाउपडीको कुरा गर्नसाथ सुदुरपश्चिम र त्यसमा पनि सबैभन्दा बढी अछामको नाम आउने भएकाले आफुहरुलाई लाजको अनुभुति हुने उहाँले बताउनुभयो ।

महिनावारी भएको समयमा छाउगोठमा बस्दा अछाममा थुप्रै महिलाले ज्यान गुमाई सकेका छन् भने कतिपय किशोरी बलात्कृत हुनुपरेको छ ।

अछाममा विभिन्न संघसंस्थाले छाउपडी विरुद्धका कार्यक्रम चलाए पनि खासै परिवर्तन हुन सकेको छैन । छाउपडीमुक्त घोषणा भएका गाउँमा समेत अहिले पनि छाउगोठमा बस्न बाध्य छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार