दाताले बनाएको शौचालय छाउगोठमा परिणत

डोटी  : डोटीको पूर्वीचौकी गाउँपालिका – ७ गजेडामा निर्मित अधिकांश पक्की शौचालय छाउगोठमा परिणत भएका छन् । दाताले बनाएको शौचालयलाई दिसापिसाब गर्न प्रयोग गर्नुको साटो गाउँलेले छाउगोठका रुपमा प्रयोग गर्न थालेका हुन् ।
पक्की शौचालयको प्यान सेटमा काठ विछ्याउने र कतै कतै माटो विछ्याएर महिनावारी हुँदा बस्ने गोठ बनाउन थालेका छन् ।
महिनावारी भएको बेला घरबाहिर बस्दै आएका उनीहरुका लागि परम्परागत छाउगोठ भन्दा पक्की शौचालय सुरक्षित लाग्न थालेपछि शौचालयलाई छाउगोठको रुपमा प्रयोग गर्न थालेका हुन् ।

‘चर्पीको चारैतिर पक्की पर्खाल छ, चुकुल पनि राम्ररी लाग्ने भएकाले यही सुरक्षित हुने भएपछि चर्पीमा बस्न थालेका हौं’ शौचालयमा बस्दै आउनुभएकी नन्दादेवी साउदले बताउनुभयो ।

शौचालय बनाउन आर्थिक सहयोग गर्न नपाउने नियम भएपनि डोटीको पूर्वीचौकी गाउँपालिकामा केही समय पहिले नै Good Neighbour International नामक संस्थाले नुहाउने ठाउँ सहितको शौचालय बनाइदिएको थियो ।

Good Neighbour International ले स्थानीयबासिन्दालाई शौचालय बनाउन आर्थिक सहयोग प्रदान गर्नुका साथै चर्पी बनाउन आवश्यक सामग्री पनि घरघरमा पुर्याएर सहयोग गरेको थियो ।

Good Neighbour International बनाएका केही शौचालय प्रयोगमा आएपनि अधिकांश शौचालय छाउगोठमा परिणत भएका छन् ।

चर्पी निर्माण र प्रयोग तथा छाउपडी विरुद्ध विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरेपनि अछाममा अझै छाउपडी प्रथा हटेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार