कन्चपुर : कन्चपुरको वेदकोट नगरपालिकामा झण्डै पचास वटा छाउगोठ भत्काइएको छ । वडा कार्यालयको समन्वयमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले वेदकोटको वडा नं. १ र २ को छाउगोठ भत्काएको हो ।
वडा नं. १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएको केन्द्रकी अध्यक्ष सीता बोहराले बताउनुभयो । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासँग जनचेतनामूलक कार्यक्रम गरेका थिए । महिलालाई कार्यक्रममा सहभागी गराएपछि गोठ भत्काउन थालिएको केन्द्रका अध्यक्ष बोहराले बताउनुभयो ।
सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ । कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका पनि सुदूरपश्चिमका केही जिल्लाका महिलाहरु महिनावारी भएको बेला पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् ।

वेदकोटलाई छाउपडी गोठमुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत गोठ भत्काउन शुरु गरिएको केन्द्रकी अध्यक्ष सीता बोहराले बताउनुभयो ।
गोठ भत्काउन जनप्रतिनिधिको पनि साथ
छाउगोठ भत्काउने अभियानमा वडाध्यक्षहरुले पनि साथ दिएका छन् । वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेर सहयोग गरिरहनुभएको छ ।
छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले गोठ भत्काउनमा सहयोग गरिएको वडा नं १ का अध्यक्ष गिरीले बताउनुभयो । ‘गोठ घरबाट टाढा हुुन्छ, त्यसरी बस्दा बलात्कारमा परेका केस आएका छन्, चोरी डकैतीको डर हुन्छ । उजुरी आइसकेपछि त्यो हामीले नै छिनोफानो गर्नुपर्छ, तसर्थ यो हाम्रो पनि सरोकारको विषय भएकाले हामी हातमा हात मिलाएर हिडेका छौं ।’ अध्यक्ष गिरीले बताउनुभयो ।


591 पटक हेरिएको 

