बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ कोटी गाउँका महिलाले अझै पनि महिनावारी हुँदा शौचालय प्रयोग गर्न पाउँदैनन् । कोटिगाउँमा रहेका करिब ५ सय घर परिवारका महिलाले महिनावारी भएको बेला खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको पुस्पा बिस्टले बताउनुभयो ।
महिनावारी भएकाले शौचालयमा दिसापिसाब गर्दा शौचालय नै छोइन्छ भन्ने गलत धारणाले महिनावारी भएको समयमा आफूहरु सात दिनसम्म शौचालय प्रयोग गर्नबाट वञ्चित हुने पुस्पाले बताउनुभयो ।
महिनावारी भएको बेला ७ दिन गोठमै बस्ने गरेका महिला दिसापिसाब गर्न पनि जंगल तथा खोलामै जाने गरेका छन् । ५ सय परिवारका महिलाले महिनावारी भएका बेला खुला ठाउँमा दिसापिसाब गर्ने भएकाले खुला दिसामुक्त घोषणा गरेको समेत कुनै अर्थ नभएको तपेन्द्र बिस्टले बताउनुभयो ।
महिनावारी भएका महिलाले खानेकुरा बार्ने देखि छुँदा समेत छोडे हाल्ने चलन अझै कायम रहेको छ । चितुवाको सबै भन्दा बढी प्रभावित क्षेत्र कोटिका महिलाहरु महिनावारी भएको समयमा डराइ डराइ छाउगोठमा बस्ने गरेका छन् ।
आफुहरु अझै पनि अन्धविश्वास र सामाजिक मान्यताका कारण यस्ता समस्या झेल्न बाध्य भएको कोटिका महिलाहरु बताउँछन् ।


760 पटक हेरिएको 

