काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयालेका किसान प्रल्हाद सापकोटा तरकारी खेतीबाट लगभग हात झिक्ने अवस्थामा हुनुहुन्थ्यो । तरकारीमा लाग्ने नयाँ नयाँ रोग किराबाट जोगाउन नसक्दा घाटा व्यहोर्नु परेपछि प्रल्हाद जस्ता धेरै किसान कृषि पेशाबाटै पलायन हुने स्थितिमा पुगेका थिए ।
तर कृषि पेशा नै त्याग्न ठिक्क परेका रयालेका किसानले अहिले खेती प्रविधि बदलेपछि तरकारी खेतीबाट मनग्गे आम्दानी लिन थालेका छन् । पिसाबलाई मलको रुपमा प्रयोग गरी तरकारी खेती गर्न थालेपछि आम्दानीको नयाँ बाटो खुलेको हो ।
पिसाबलाई मलको रुपमा प्रयोग गर्न रयालेका किसानले इकोशान चर्पी बनाएका छन् । गाउँका ६८ घर मध्ये ५० घरले दिसा र पिसाब अलग अलग छुट्टिने इकोशान चर्पी बनाएका छन् ।
चर्पीको प्यान सेटबाट ड्र«ममा जम्मा हुने पिसाबलाई पानी र पिसाबको मात्रा मिलाएर तरकारीमा लगाउन थालेपछि किसानको तरकारी फस्टाएको हो । शुरु शुरुमा पिसाब संकलन गरेर तरकारीमा हाल्दा कसले किन्लान् र ? भनेर आफैसँग प्रश्न गर्ने किसानहरु हिजोआज अर्गानिक तरकारीको उपमा पाउँदा खुसीले गदगद भएका छन् ।
‘पहिले त पिसाबलाई मलको रुपमा प्रयोग गर्ने भन्दा पत्यार नै लागेको थिएन तर अहिले पिसाब मल प्रयोग गरेर उब्जाएको तरकारी बेग्लै हुँदो रहेछ । यो त अर्गानिक तरकारी हुँदो रहेछ, हामीले पहिले थाहा नपाएर पिसाबलाई खेर फालेछौं’ अर्का किसान मुसुरी श्रेष्ठले भन्नुभयो ।
इकोसान चर्पी बनाएर प्रयोग गर्न थालेपछि फलाएको तरकारी खेतीबाट कृष्णबहादुर श्रेष्ठले मात्र करिब ६० हजार रुपैयाँ आम्दानी गरिसक्नुभएको छ । ‘मैले पिसाब मल प्रयोग गरेर खेती गर्न थालेको ६ महिना मात्र हुँदैछ, पिसाब मलले आम्दानीमा समेत निकै सुधार भएको छ’ उहाँले भन्नुभयो ।
अहिले रयाले गाउँका हरेक किसानको बारीमा काउली, मुला, गाजर, धनिया, सिमी जस्ता मौसमी तथा बेमौसी तरकारी लहलहाउँदो भेटिन्छन् ।
गएको साउनदेखि उत्पादन भएको तरकारीबाट रयाले गाउँमा ११ लाख भन्दा बढी रकम भित्रिएको परियोजना सहायक संयोजक शोभा घिमिरेले जानकारी दिनुभयो । विभिन्न रसायनिक बिषादीको प्रयोग गर्दा समेत तरकारी जोगाउन नसकेका किसान अहिले अर्गानिक तरकारी फलाउन पाउँदा खुसीले दंग छन् ।
पिसाब मलले लागत घट्यो, आम्दानी बढ्यो
पिसाब मल प्रयोग गर्न थालेपछि यसअघि विषादी किन्दा हुने खर्च पनि जोगिएको छ । त्यत्तिकै खेर गइरहेको मानिसको पिसाबको प्रयोगले तरकारीबालीमा लाग्ने रोग किरा नियन्त्रण भएको अनुभव छ किसान कल्पना श्रेष्ठको ।
‘इकोसान चर्पी निर्माण भएयता तरकारी खेतीमा रासायनिक मल र विषादीको प्रयोग निकै कम हुन थालेको छ, माटो पहिलेभन्दा धेरै मलिलो बन्दै गएको हामीले अनुभव गरेका छौं’ कल्पना श्रेष्ठ भन्नुहुन्छ पिसाबको प्रयोग गरेर तरकारी खेती गर्दा लागत पनि घट्यो आम्दानी चाहिं बढ्यो ।
किसानको सहयोगी हात
किसानको सहयोगी हातको रुपमा काम गरेका हुन् ग्रामीण समाज कल्याण संघ (अर्सो नेपाल) ले । अर्सोले टीडिएच जर्मनी, नवज्योति केन्द्र र स्थानीय समुदायको सहकार्यमा भुकम्प प्रभाबित जिल्लाका लागि जीवनस्तर सुधार परियोजना अन्तर्गत रयालेका किसानलाई इकोसान चर्पी निर्माण गर्न आर्थिक र प्राविधिक सहयोग गरेको हो ।
इकोसान चर्पी निर्माण भएपछि गाउँमा अर्गानिक तरकारी उत्पादन बढ्नुका साथै सरकारको पूर्ण सरसफाइ तथा खुला दिसामुक्त क्षेत्र अभियानमा समेत सहयोग पुगेको आर्सो नेपालका कार्यकारी निर्देशक विष्णु वेलबासेले बताउनुभयो ।