अरुणाञ्चल : भारतमा महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले महिनावारी भएको बेला महिलालाई छुट्टी दिनु पर्ने कानुन बनाउन लोकसभा संसदमा विधेयक दर्ता गरेपछि बहस चर्किएको हो ।
कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग सम्बन्धित पहिलो विधेयक हो ।
विधेयकमा सरकारी तथा निजी कार्यालयमा काम गर्ने महिलालाई महिनामा २ दिन महिनावारी बिदा दिनु पर्ने प्रस्ताव गरिएको छ ।

महिनावारी हुँदा महिलालाई पीडा हुने हुँदा उनीहरुलाई आराम दिनु पर्नेमा सांसद एरिङको जोड छ । सांसद एरिङले आफ्नो घर परिवारका महिलाको दुःख देखेर नै यो विधेयक संसदमा ल्याएको बताउनुभएको छ ।
उहाँको यो विधेयक संसदबाट पारित भएमा भारतका कामकाजी महिलाले महिनामा दुई दिन महिनावारी बिदा पाउने छन् ।
एरिङलाई कतिपयले पुरुष भएर महिलाको विषयमा यति धेरै किन टाउको दुखाएको भनेर पनि प्रश्न गरेका छन् । उहाँ भन्नुहुन्छ, ‘केही व्यक्तिले मलाई महिलाहरुको व्यक्तिगत कुरामा यति धेरै किन चासो देखाएको भनेर सोधेका थिए । के म एउटा पुरुष भएर महिलाको समस्या बुझ्न सक्दिन ?’
महिनावारी भएको समयमा महिलालाई मानसिक तथा शारीरिक दुवै किसिमका पीडा हुने उहाँले बताउनुभयो ।
युनिभर्सिटी कलेज अफ् लण्डनका रिप्रोडक्टिभ हेल्थका प्रोफेसर जोन गिलबाडले गरेको एउटा अनुसन्धानका अनुसार कतिपय अवस्थामा महिनावारीको समयमा भएको दुखाईले हृदयघातसम्म हुन सक्ने बताइएको छ ।
भारतीय सञ्चार माध्यमको सहयोगमा


640 पटक हेरिएको 

