मनिराज पाण्डे, कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाका किशोरीहरु महिनावारी चक्रका विषयमा अनभिज्ञ रहेको पाइएको छ । किशोरीहरुलाई महिनावारी सरसफाइका विषयमा सुुसुचित गराउने उद्देश्यले आयोजना गरिएको महिनावारी स्वच्छता ब्यवस्थापन सम्बन्धी तालिममा सहभागी किशोरीहरुले सोधे ‘महिनावारी चक्र भनेको के हो ?’
स्थानीय भाषामा महिनावारीलाई छाउ, छुइ वा पर सरेको भन्ने चलन छ । महिला तथा किशोरीहरु छाउ, छुइ वा पर सरेको भन्न समेत लजाउने गरेको तालिम प्रशिक्षक पुष्पा घर्ती मगरले बताउनुभयो ।
सामान्यतया २८ दिनमा एउटा स्वस्थ महिलामा गर्भधारण नभएको खण्डमा प्रजनन् अंगबाट रक्तश्राव हुनुलाई महिनावारी भनिन्छ । महिनावारी भएको बेला प्रर्याप्त मात्रामा पोषिलो खानेकुराहरु खानु पर्ने भए पनि यहाँका महिलाहरु देवता रिसाउने डरले घर बाहिर वा छाउगोठ बस्ने गर्दछन् ।
पोषिलो खानेकुरा खान नपाउनु र ७ दिन सम्म निरन्तर छाउगोठमा बस्नु यहाँको महिलाका लागि बाध्यता बनेको छ । सामाजिक कुरिती र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्न पलाँता गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।
महिनावारी भएको बेला छाउँगोठ बस्ने र पोषिलो खानेकुरा खान नहुने धार्मिक अन्धबिश्वासकै कारण कतिपय महिलाको अकालमै ज्यान जाने गरेको संञ्चारकर्मी तुलाराम पाण्डेले बताउनुभयो । पलाँता गाउँपालिकामा छाउपडी सम्बनधी सामाजिक कुरीति र कुसंस्कार हटाउन किर्डाक नेपालले बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।


653 पटक हेरिएको 

