महिनावारी स्वच्छतामा ध्यान दिने सहभागीको प्रतिबद्धता

बर्दिया : बर्दियाको गेरूवा गाउँपालिकाको वडा नं २ र ३ का महिला स्वास्थ्य स्वयं सेविका, शिक्षिका र किशोरीहरुले महिनावारी हुँदा स्वच्छता सम्बन्धी तरिकाहरु अपनाउने प्रतिबद्धता जनाएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविका, स्वस्थ आमा समूह, महिला सहकारी, महिला शिक्षक र किशोरी छात्राहरुको लागि आयोजना गरिएको पूर्ण सरसफाइ तथा महिनावारी हुँदाको स्वच्छता सम्बन्धी तालिमका सहभागीले महिनावारी भएपछिको अवधिमा नियमित रुपमा प्याड लगाउने, फेर्ने र महिनावारी सफाइमा ध्यान दिने प्रतिबद्धता जनाएका हुन् ।
तालिममा महिला स्वास्थ्य स्वयंसेविका खुमा धामी, छात्रा रबिना थारू, शिक्षिका माया चौधरी, वनकट्टी सरसफाइ नमुना टोलकी उपाध्यक्ष लक्ष्मी खत्रीले तालिमबाट अत्यन्तै महत्वपूर्ण ज्ञान पाएको र यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् ।

 

शिक्षिका माया थारूले पहिले यौन तथा महिनावारी सम्बन्धी शिक्षण गर्दा छात्राहरू हाँसेपछि पढाउन समेत अप्ठ्यारो परेको अनुभव सुनाउदै तालिमले महिनावारीको विषयमा लाज नमानी गर्व गर्नुपर्छ भन्ने थाहा पाएको बताउनुभयो । ‘छात्रछात्रा हाँसेपछि पाठ राम्रो सँग नपढाई निस्केर हिड्नुपथ्र्यो, तालिममा महिनावारी लज्जाको विषय नभई यो गर्वको विषय भएको कुरा थाहा पाएँ, अब लाज नमानी पढाउनेछु ।’ शिक्षिका थारुले भन्नुभयो ।

गेरुवा गाउँपालिका वडा नं २ का अध्यक्ष आलोक कुमार थारूले आफूलाई उच्च जाति भन्ने वर्गमा नै अझै पनि छाउपडी प्रथा रहेको र महिनावारी हुँदा धारा, भान्सा, खाना तथा पानी बार्ने प्रचलन रहनु आधुनिक युग नसुहाउँदो भएकाले सबै मिलेर कुप्रथा हटाउनुपर्ने बताउनुभयो ।

 


उहाँले वडा नं. मा रहेका ५ मध्ये विद्यालय मध्ये तीनवटा विद्यालयमा महिनावारीमैत्री सुविधा, साबुन पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई पूर्ण सरसफाइमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

तालिमका प्रमुख अतिथि समेत रहेका यु एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले महिनावारी हुँदाको समयमा भोग्नुपर्ने छुवाछुत नहटे सम्म महिलाहरू खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, आत्मसम्मानपूर्वक बाँच्न पाउने जस्ता मानव अधिकार बाट समेत बञ्चित हुने बताउनुभयो । उहाँले महिनावारी हुने कारण, प्रक्रिया, महिनावारी चक्र , महिनावारी हुँदाको समयमा कठिनाइ व्यवस्थापन गर्ने तरिका, सरसफाइ, प्याडको प्रयोग गर्ने तरिका तथा सरसफाइ तथा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण गराउनुभयो ।

 


गेरूवा गाउँपालिका र वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजना, यु एन हेविटाटको सहयोग र आई डि एस नेपाल र मायुस बर्दियाको सहजीकरणमा सञ्चालित तालिममा महिनावारी र पूर्ण सरसफाइ सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार