कपडाको प्याड बनाउने तरिका थाहा छ ? यसरी बनाउनुहोस्

बर्दिया : महिनावारी भएको समयमा सुरक्षित प्याड लगाउनुपर्छ । तर सबै भुभाग र सबै महिलाका लागि सेनेटरी प्याड उपलब्ध नहुन सक्छ । सेनेटरी प्याड उपलब्ध नभएको ठाउँमा कपडाको प्याड बनाएर लगाउन सकिन्छ । कपडाको प्याड कसरी तयार पार्ने त ? कपडाको प्याड बनाउने विषयमा सहजीकरण गर्दै आउनुभएका फ्लोरेन्स हस्पिटल, लमहीकी अ.न.मी. बर्षा श्रेष्ठका अनुसार कपडाको प्याड बनाउन निम्न सामग्री आवश्यक पर्दछ ।

 

रंग नजाने नरम किसिमको सुती वा फलाटिनको कपडा
गज, सियो, धागो, टिप टाँक,
न्युज पेपर वा पत्रिका (प्राक्टिस गर्नका लागि)

प्याड बनाउने तरिका

  • कपडालाई लम्बाई २५ से.मी. र चौडाई २१ से.मी. को नाप लिएर काट्नुहोस् ।
  • उक्त कपडालाई लम्बाई फोल्ड हुने गरी दाँया पर्ने गरी बराबर साइजमा दोबार्नुहोस् ।
  • दोबारेको भागको तल्लो भागलाई माथिल्लो भाग सँग मिलाउनुहोस् । यसो गर्दा चार फोल्ड हुन जान्छ ।
  • पत्रहरु भएको पट्टिबाट काट्नको लागि फोल्ड कपडाको लम्बाईको आधा र चौडाइको आधाको केन्द्रमा जाने गरी माथिबाट केन्द्र हुदै दायाँ पट्टी जाने गरी उल्टो अंगेज्री क् आकारको रेखा कोरी पत्र पट्टीको भाग फाल्ने गरि कैचीले काट्नुहोस् ।
  • यसप्रकारको एकै किसिमका २ वटा कपडा काट्नुहोस् ।
  •  काटिएका दुई वटा कपडाको बीचमा २१ से.मी.लम्बाई र ६ सेमी चौडाई भएको गज राखेर एक छेउ छोडी बाँकी किनारा सिलाउनुहोस् ।
  • यसरी सिलाई सकेपछि नसिलाएको भागबाट सिरकको खोल जस्तै उल्टो फर्काउनुहोस् ।
  • भित्री वस्त्र अर्थात पेन्टी अड्काउने गरि प्याडको साइड (कान जस्तो) मा बनेको भागको टुप्पोमा बटन (टिपटाँक) लगाउनुहोस् ।
  • अब प्याड तयार भयो, तपाईले महिनावारी भएको समयमा लगाउन सक्नुहुन्छ ।

के तपाईलाई थाहा छ ?

  • विश्वमा कुल जनसंख्याको ५२ प्रतिशत र नेपालमा ५१ प्रतिशत महिला छन् ।
  • कुल महिला जनसंख्याको ५० प्रतिशत महिनावारी हुने उमेरका हुन्छन् ।
  • नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफ्रिका लगायतका देशहरु महिनावारी हुँदा बार्ने चलन छ ।
  • महिनावारी सम्बन्धी विभेदका कारण खानेपानी, स्वास्थ्य, सुरक्षा, सरसफाइ, शिक्षा, आत्मसम्मानपूर्वक वाँच्न पाउने लगायत मानवअधिकारबाट किशोरी र महिलाहरु बञ्चित छन् ।
  • महिनावारी हुँदा उचित सरसफाइको अभाव, प्याडको गलत तरिकाबाट प्रयोग लगायत कारण योनी चिलाउने, मूत्रनली र पाठेघरमा संक्रमण हुने, बाँझोपन हुने र क्यान्सर समेत हुने गरेको छ ।
  • महिनावारी हुँदाको अवधिमा उचित सरसफाइ र प्याडको सही व्यवस्थापन नभएमा व्यक्तिगत सरसफाइ र वातावरणीय सरसफाइमा समेत असर पुग्दछ ।

महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको प्याड बनाउने तालिम

बर्दियाको गुलरियामा महिनावारी स्वच्छता व्यवस्थापन तथा कपडाको प्याड बनाउने सम्बन्धी जिल्ला स्तरीय तालिम सम्पन्न भएको छ ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा, यु.एन. ह्याविटाटको सहयोग र आई.डि.एस. नेपाल र मायुस बर्दियाको सहजीकरणमा २ दिने सचेतीकरण तथा व्यावहारिक तालिम सम्पन्न भएको हो ।

विभिन्न डिजाइनका कपडाको प्याड महिला आफैले तयार गरेर वा स्थानीय स्तरमा खरिद गरि प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्न, वडास्तरमा स्थानीय स्वयम्सेवी प्रशिक्षक तयार पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

 

तालिममा महिनावारी हुँदा गर्व गर्ने, महिनावारी हुँदाको समयमा गरिने विभेदलाई हटाउँदै खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, आत्म सम्मानपूर्वक बाँच्न पाउने जस्ता मानव अधिकार प्राप्त गर्न अग्रसर गराउन र महिनावारी हुँदाको समयमा आवश्यक सरसफाइ, आराम र खानपान तथा कठिनाई व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो ।

तालिममा बढैयाताल र गेरुवा गाउँपालिकाका पूर्ण सरसफाइ अभियान कार्यक्रमका २ जना कर्मचारी सहित २२ जना महिलाले कपडाको प्याड बनाउन सिकेका छन् ।

तालिम उपयोगी

तालिमकी प्रशिक्षार्थी गेरुवा गाउँपालिका वडा नं. ५ की स्वास्थ्य स्वयम् सेविका टीका चौधरीले आफुले २२ बर्षको अवधि सम्म महिला स्वास्थ्य स्वयम् सेविका भएर काम गर्दा समेत यस प्रकारको तालिम नपाएको बताउनुभयो । उहाँले यो तालिमबाट कपडाको प्याड बनाउने सीप आर्जन गरेको खुसी भएको बताउँदै सधै महिनावारी स्वच्छता र कपडाको प्याड बनाउने तालिम सञ्चालन गर्न गाउँपालिका र वडा कार्यालयहरुले पनि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

 

त्यसैगरी बढैयाताल गाउँपालिका वडा नं ४ की सहभागी संगिता बिश्वकर्माले २१ औं शताब्दीका महिलाहरु महिनावारीको बिषयमा कुरा गर्न नसक्ने अबस्थामा हुनु र विभिन्न प्रकारका विभेद सहेर पिल्सिरहनु समय सापेक्षा नभएको बताउनुभयो । उहाँले महिनावारी हुँदाको स्वच्छता व्यवस्थापन सम्बन्धी ज्ञान र कपडाको प्याड बनाउने सीप वडाका दिदीबहिनीलाई समेत सिकाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि एवं सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी.ले बर्दिया जिल्लालाई पूर्ण सरसफाइ उन्मुख बनाउन बर्दियाका सबै नगरपालिका र गाउँपालिकाले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले यस प्रकारको तालिमबाट किशोरी तथा महिलाको स्वास्थ्य राम्रो बनाउन सहयोग पुग्ने भएकाले आफूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न र समुदाय तथा विद्यालयमा फैलाउन शुभकामना दिनुभयो । तालिम प्रशिक्षक एवं यु.एन.ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले महिनावारी हुँदा स्वच्छतामा ध्यान दिने हो भने महिला स्वस्थ हुने र परिवार नै सुखी हुने बताउनुभयो ।

फ्लोरेन्स हस्पिटल, लमहीका अ.न.मी. बर्षा श्रेष्ठले विभिन्न ३ डिजाइनका कपडाको प्याड बनाउन सिकाउनु भएको थियो भने यु.एन. ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले महिनावारी हुँदाको स्वच्छता र व्यवस्थापन सम्बन्धी जागृतिमूलक सैद्धान्तिक बिषयमा प्रशिक्षण गराउनु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार