२०७५ लाई सरसफाइ वर्ष घोषणा गर्न हस्ताक्षर अभियान

🔗
6
Shares

काठमाडौ : वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले बर्ष २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै विशिष्ट व्यक्तिको हस्ताक्षर संकलन गर्न थालेका छन् ।

अहिलेसम्म पूर्व राष्ट्रपति डा रामवरण यादव, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्व मन्त्री हिसिला यमी, नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैर आवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष भवन भट्ट, नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गरिसक्नुभएको सफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।

यसैगरी नायिका एवं वाग्मती सफाइ सद्भावना दूत मनिषा कोइराला, नायक राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहालले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गर्नुभएको छ ।

आइतबारसम्म सबै पूर्व प्रधानमन्त्री एवं विशिष्ट व्यक्ति गरी १०१ भन्दा बढीको हस्ताक्षर गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने खेम्स क्लिनिङका अध्यक्ष खेम शर्माले जानकारी दिनुभयो ।

सरसफाइ वर्ष घोषणासँगै जथाभावी फोहर गर्नेलाई कारबाहीका लागि कडा कानून बनाइ कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरु गर्ने तयारी भएको छ ।

वाग्मती सफाइ महाअभियानको २५१ औँ हप्तामा आज शंखमूल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार