
घोराही: फोहोरलाई ऊर्जा उत्पादनको स्रोत बनाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिका–१६ गरुवा गाउँमा स्थापना गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थको अभावमा लामो समयदेखि बन्द छ । करिब २२ करोड रुपियाँ लगानीमा निर्माण भएको प्लान्टको परीक्षण उत्पादन सुरु गरेको तीन वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन ।
घोराहीको फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै त्यसबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले २०७५ सालमा प्लान्ट निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । निर्माण सम्पन्न भएपछि परीक्षण उत्पादन गरिएको प्लान्टको २०७८ चैत १९ गते उद्घाटन गरिएको थियो । परीक्षणका क्रममा कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरी पाइपलाइन मार्फत उपभोक्ताको घरसम्म पनि पुर्याइएको थियो ।
नेपाल ऊर्जा विकास कम्पनी प्रालिका कारखाना व्यवस्थापक हरिशरण श्रेष्ठका अनुसार प्लान्ट सञ्चालनका लागि पर्याप्त मात्रामा कुहिने फोहोर उपलब्ध हुन नसकेपछि उत्पादन रोकिएको हो । विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा घोराहीमा दैनिक करिब २५ टन कुहिने फोहोर उत्पादन हुने अनुमान गरिएको थियो तर वास्तविक सङ्कलन अनुमानभन्दा निकै कम भएपछि प्लान्टको क्षमता उपयोग हुन नसकेको उहाँले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “प्लान्ट सञ्चालनका लागि कम्तीमा दैनिक एक हजार किलोग्राम कुहिने फोहोर आवश्यक पर्छ । गत वर्ष दैनिक ३५० देखि पाँच सय किलोग्राम सम्म मात्र सङ्कलन भएको थियो ।” उहाँका अनुसार दैनिक एक हजार किलोग्राम कुहिने फोहोर उपलब्ध भए प्लान्टबाट ६० देखि ६५ घनमिटर बायोग्यास उत्पादन गर्न सकिन्छ । उहाँले आवश्यक कच्चा पदार्थ नपाएपछि गत वर्षदेखि प्लान्ट पूर्ण रूपमा बन्द रहेको बताउनुभयो ।
प्लान्ट बन्द हुँदा फोहोर व्यवस्थापनको योजना समेत प्रभावित भएको छ । घोराही उपमहानगरपालिकाको सरसफाइ शाखाका प्रमुख लक्ष्मण अधिकारीका अनुसार यसअघि छुट्याएर सङ्कलन गरिएको कुहिने फोहोर प्लान्टमा पठाइन्थ्यो । अहिले प्लान्ट सञ्चालनमा नरहेपछि त्यस्तो फोहोरसमेत डम्पिङ साइटमा लैजानुपर्ने अवस्था आएको छ ।
प्लान्ट निर्माणमा ठुलो लगानी भए पनि नियमित सञ्चालन हुन नसक्दा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन । कारखाना व्यवस्थापक श्रेष्ठले आवश्यक पूर्वाधार तयारी अवस्थामा रहे पनि कच्चा पदार्थ अभावका कारण कम्पनीले आर्थिक क्षति बेहोर्नु परेको बताउनुभयो ।
बायोग्यास उत्पादन भएपछि घोराही उपमहानगरपालिका–१० र १६ का करिब ७५० घरधुरीमा पाइपलाइन मार्फत ग्यास वितरण गर्ने योजना थियो । त्यसका लागि करिब एक सय घरधुरीसम्म पाइपलाइन समेत बिछ्याइसकिएको छ । उत्पादन नै रोकिएपछि भने उक्त पूर्वाधार प्रयोगविहीन बनेको छ ।
गरुवागाउँका स्थानीय दीपक चौधरीले प्लान्ट नियमित सञ्चालनमा आए फोहोर व्यवस्थापनसँगै स्थानीयले वैकल्पिक ऊर्जाको सुविधा पाउने बताउनुभयो । चौधरीले भन्नुभयो, “घोराहीमा मात्र पर्याप्त फोहोर सङ्कलन हुन नसकेको हो भने आसपासका स्थानीय तहसँग सहकार्य गरेर आवश्यक कुहिने फोहोर जुटाउन सकिन्छ ।”
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबिच २०७५ मङ्सिर ५ गते भएको त्रिपक्षीय सम्झौता अनुसार प्लान्ट स्थापना गरिएको हो । प्लान्ट निर्माणमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनीको ६० प्रतिशत लगानी छ । घोराही उपमहानगरपालिकाले प्लान्टका लागि तीन बिघा जग्गा उपलब्ध गराएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


159 पटक हेरिएको 

