पाल्पा : सरसफाइ अभियान सञ्चालन भएको ६ बर्षपछि पाल्पालाई खुलादिसामुक्त घोषणा गरिएको छ । शनिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पाल्पालाई खुल्ला दिसामुक्त रहेको घोषणा गर्नुभयो । २०६८ साल माघ १० गते भैरवस्थान गाउँ विकास समितिलाई खुला दिसामुक्त घोषणा गरी पाल्पामा सरसफाइ अभियानको सुरुवात गरिएको थियो ।
पाल्पा खुलादिसामुक्त घोषणा भएसँगै देशका ७७ जिल्ला मध्ये ५० जिल्ला खुलादिसामुक्त घोषणा भएका छन् । पाल्पाका सबै घरधुरीहरुमा चर्पी निर्माण भै प्रयोगमा आइसकेकाले पाल्पालाई खुला दिसामुक्त घोषणा गरिएको हो । पाल्पामा आगामी वर्षदेखि पूर्ण सरसफाइ अभियान सञ्चालन गरिने भएको छ ।

खुला दिसामुक्त जिल्ला घोषणा गर्न तानसेन बजारमा बाजागाजा, प्लेकार्ड र ब्यानर सहितको -याली निकालिएको थियो । पाल्पालाई यसअघि खोप सुनिश्चित जिल्ला र पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको छ ।
पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले काठमाडौंमा थुप्रिएका कर्मचारी सबै क्षेत्रमा खटाउने, सेवा प्रवाह चुस्त–दुरुस्त बनाउने र ऐन–कानुनको पालना गराउने बताउनुभयो ।


716 पटक हेरिएको 

