शिवसताक्षी नगरपालिका खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर सहित)

विनोद धौलागिरि, शिवसताक्षी (झापा)

शिवसताक्षी नगरपालिका झापाको चौथो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ । झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद साँवा लिम्बूले हरियो झण्डोत्तोलन गरी नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा भएको घोषणा गर्नुभयो । यसअघि कनकाई नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् ।

१४ हजार ८ सय ७३ घरधुरी रहेको शिवसताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ११ हजार ८ सय ९७ घरधुरीमा सुरक्षित शौचालय रहेको थियो । स्थानीय तह पुनःसंरचनाका क्रममा शिवसताक्षी नगरपालिकामा गाभिएका साविक धरमपुर गाविस र साविक पाँचगाछी गाविस यसअघि नै खुल्ला दिसामुक्त घोषणा भैसकेका थिए । बाँकी रहेका वडा नं. ६ देखि ११ सहित शिवसताक्षी नगरपालिकालाई नै आइतबार खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

 

आइतबार आयोजना गरिएको कार्यक्रममा नगरपालिकाको पूर्ण सरसफाइ कार्ययोजना २०७४ समेत सार्वजनिक गरिएको छ । नगरपालिकालाई २०७७ चैत्र मसान्त सम्ममा पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।

सोही कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई पूर्ण सरसफाइ सामग्री समेत हस्तान्तरण गर्नुभयो ।

 

नगर प्रमुख शेर्माले पूर्ण सरसफाइ प्रतिवद्धता व्यक्त गर्नुका साथै सम्पूर्ण सहभागीहरुले प्रतिवद्धता दोहो-याउनुभएको थियो ।

खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने अभियानकर्ताहरुलाई विराट सामुदायिक अध्ययन केन्द्रको तर्फबाट सम्मान गर्नुका साथै शिवसताक्षी नगरपालिकालाई सफा नगरपालिका सम्मान समेत प्रदान गरिएको थियो । यसैगरी शिवसताक्षी नगरपालिकाको तर्फबाट अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय तथा अभियानकर्ताहरुलाई समेत सम्मान गरिएको थियो ।

 


कार्यक्रमका प्रमुख अतिथि लालप्रसाद साँवा लिम्बूले पूर्ण सरसफाइ प्रतिवद्धतालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । यस पुस्ता दुनियाकै भाग्यमानी पुस्ता भएको बताउँदै प्रमुख अतिथि लिम्बूले अबको यही पुस्ताले नै सरसफाइलाई जीवनपद्धति र जीवनशैलीको रुपमा विकास गरेको र स्वच्छ समाजको वीजारोपण गरेको उल्लेख गर्नुभयो ।

प्रदेश सभा सदस्य झलक दर्लामी र हिरा बहादुर थापाले सम्पूर्ण स्थानीय तहहरुले सरसफाइलाई सभ्यता र विकासको पहिलो सूचकको रुपमा लिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जिल्लाको खुल्ला दिसामुक्त अभियान निचोडको चरणमा पुगेको बताउँदै खुल्ला दिसामुक्त घोषणा हुन बाँकी गाउँपालिका र नगरपालिकाहरुको अन्तिम गुणस्तर अनुगमनको तालिका बनाएर अनुगमन प्रक्रिया सुरु गर्ने उल्लेख गर्नुभयो ।

 

पूर्व सांसद दीपक कार्कीले सरसफाइका आधारभूत सूचक पूरा नगर्ने स्थानीय तहलाई अनुदान कटौती गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले जिल्ला र सम्पूर्ण स्थानीय तहले पूर्ण सरसफाइ कार्ययोजना तयार गरी तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

विराट सामुदायिक अध्ययन केन्द्रका महासचिव रुद्र सिटौलाले पूर्ण सरसफाइ अभियानको सहजीकरण निरन्तर रहने प्रतिद्धवता व्यक्त गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले खुल्ला दिसामुक्त अभियानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार