विनोद धौलागिरि, भद्रपुर (झापा)
जिल्ला खुल्ला दिसामुक्त अभियानको अन्तिम संघारमा प्रवेश गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अद्यावधिक गरेको तथ्यांक अनुसार १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये ३ हजार २ सय ६४ घरधुरीमा मात्र शौचालय निर्माणको काम थालनी हुन सकेको छैन । यसैगरी ६ हजार ३ सय १४ घरधुरीमा शौचालय निर्माणाधीन अवस्थाामा रहेका छन् भने १ लाख ७२ हजार ६ सय ३७ घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुगिसकेको छ ।
“सबैको सामुहिक प्रतिवद्धता र प्रयासका कारण गत एक महिनामा ९ हजार ७ घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुग्यो”, सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भन्नुभयो, “अबको एक महिनाभित्र तीन हजार घरधुरीमा शौचालय निर्माणको थालनी गर्नु र निर्माणाधीन घरधुरीमा शौचालय निर्माण गर्न त्यति कठिन छैन ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोधमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका साझेदार संस्थाहरुमार्फत सहजीकरण सुरु हुनुअघि झापा जिल्लाका ३९ हजार २ सय ८७ घरधुरीमा शौचालय निर्माण हुन बाँकी रहेको थियो । राजनीतिक प्रतिद्धवता, सार्थक मिडिया सहयोग, जनप्रतिधिको अपनत्व र अगुवाइ, निरन्तर सहजीकरण र कुशल रणनीतिक व्यवस्थापनका कारण एक वर्षको अवधिमा २९ हजार ७ सय ९ घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुगेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको प्रेस नोटमा उल्लेख गरिएको छ ।

अन्तिम गुणस्तर अनुगमन तालिका सार्वजनिक
स्थानीय तहमा खुल्ला दिसामुक्त अभियान अगाडि बढाउने क्रममा देखिएका मुख्य समस्याहरुलाई समाधान गरिसकिएको र सहजीकरण गर्ने निकाय तथा स्थानीय तहको सहजीकरण निरन्तर रहेका कारण खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेका स्थानीय तहको अन्तिम गुणस्तर अनुगमनका लागि तालिका समेत सार्वजनिक गरिएको छ ।
सबै स्थानीय तह (साविकका गाविस सहित) लाई २०७५ बैशाख २८ गतेभित्र अन्तिम गुणस्तर अनुगमन गरिसक्ने र बैशाख ३१ भित्र खुल्ला दिसामुक्त घोषणा गरिसक्ने तालिका बनाइएको छ । स्थानीय तहसँग समन्वय गरेर बनाइएको तालिका भएकोले कार्यान्वयनमा ल्याउन कठिन नभएको समेत अध्यक्ष पोर्तेलले जानकारी गराउनुभयो ।

२०७५ पूर्ण सरसफाइ वर्ष घोषणा
खुल्ला दिसामुक्त अभियानका क्रममा प्राप्त उपलब्धीलाई संस्थागत गर्दै पूर्ण सरसफाइ प्रवद्र्धनका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले २०७५ लाई पूर्ण सरसफाइ वर्षको रुपमा घोषणा गरेको छ ।
यस वर्ष सम्पूर्ण संघसंस्था, निकाय, कार्यालय र नागरिक समाजले आफ्ना वार्षिक क्रियाकलाप एवम् गतिविधिहरु गर्दा पूर्ण सरसफाइ प्रवद्र्धनमा केन्द्रित भएर गर्नका लागि समितिले अनुरोध समेत गरेको छ ।

जिल्लामा पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी बनाउनका लागि पूर्ण सरसफाइ प्रवद्र्धन रणनीतिक योजना तयार गरी जिल्ला खुल्ला दिसामुक्त घोषणाकै दिनमा सार्वजनिक गरिने र जिल्ला खुल्ला दिसामुक्त घोषणाकै दिनमा सरसफाइ प्रवद्र्धन स्मारिका तयार गर्नुका साथै अभियानका सिकाइहरु र राम्रा अभ्यासहरुको संंगालो समेत प्रकाशन गरी दस्तावेजीकरण गरिने ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले जानकारी दिनुभयो ।
पूर्ण सरसफाइ वर्ष कार्यक्रमअन्तर्गत झापाका सम्पूर्ण स्थानीय तहले पूर्ण सरसफाइ कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुका साथै दिगो सरसफाइ प्रवद्र्धनका लागि वातावरण तथा सरसफाइ कार्यविधि तयार गर्ने र सोका लागि आवश्यक प्राविधिक एवम् प्रक्रियागत सहयोग जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।
सोही बैठकले पूर्ण सरसफाइ अभियान सहजीकरणका लागि खुल्ला दिसामुक्त अभियान सहजीकरणमा सहयोग गरेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले सहयोग निरन्तर राख्नका लागि गरेको निर्णयको स्वागत गर्दै अन्य विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुलाई सहयोगका लागि आव्हान गर्ने निर्णय समेत गरेको छ ।
पूर्ण सरसफाइ अभियानको थालनीमा खुल्ला दिसामुक्त अभियानको सफलतासँगै संस्थागत शौचालय पर्याप्त र प्रयोगकर्तामैत्री बनाउनका लागि सम्पूर्ण विद्यालय प्रशासन, गाउँपालिका तथा नगरपालिकाहरुसँग समन्वय गरिने जनाइएको छ ।
हाट बजार, महत्वपूर्ण रणनीतिक स्थलहरु र सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने कार्य पूर्ण सरसफाइ अभियानको एक महत्वपूर्ण पक्ष हो । सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरुप सार्वजनिक क्षेत्रमा सरसफाइ सुविधाको प्रवद्र्धनको नीतिअनुरुप कार्यक्रमलाई अघि बढाइने निर्णय समेत बैठकले गरेको छ ।


869 पटक हेरिएको 

