इस्लामावाद : सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनको औपचारिक शुरुवात भएको छ । पाकिस्तानको इस्लामावादमा हिजो देखि नै अनौपचारिक प्रकृतिका कार्यक्रमहरु भइरहेपनि औपचारिक रुपमा आज मात्र सम्मेलनको शुरुवात भएको हो ।
सम्मेलनको अध्यक्षता पाकिस्तानको जलवायु मन्त्री मुसाहिद उल्लाह खाँ ले गर्नुभयो । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मुसाहिदले दक्षिण एसियाली सरसफाइ सम्मेलनको शुरुवात हुन थालेपछि दक्षिण एसियाली राष्ट्रहरुको सरसफाइमा चामत्कारिक सुधार हुन थालेको बताउनुभयो ।
यो उपलब्धी सीमित देशको मात्र नभई दक्षिण एसियाली राष्ट्रहरुकै ठूलो प्राप्ति भएको भन्दै उहाँले जलवायु परिवर्तन लगायतका कारणले पानीको समस्या हुँदै गएकाले पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै पाकिस्तानका राष्ट्रपति मम्नून हुस्सेनले दक्षिण एसियाली राष्ट्रहरुले सरसफाइमा बटुलेको अनुभव आदानप्रदान गर्न सम्मेलनले ठूलो अवसर सिर्जना गरेको बताउनुभयो । पाकिस्तानले सन् २०३० सम्ममा सुरक्षित सरसफाइ नारा दिएर सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको र यसले दिगो विकास लक्ष्य हासिल गर्न सजिलो तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मेलनको शुरुवात भोलि विहान पौने ९ बजे होटेल सेरेनामा हुने कार्यक्रम रहेको सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनको सचिवालयले जनाएको छ ।


648 पटक हेरिएको 

