मोरङ : खुला दिसामुक्त क्षेत्र घोषणा भएको लामो समय भइसक्दा समेत मोरङको उर्लाबारी बजारमा अहिलेसम्म एउटै व्यवस्थित सार्वजनिक शौचालय बनेको छैन उर्लाबारी युवा क्लबको संयोजनमा मुख्य चोकमा एउटा सार्वजनिक शौचालय बनाएपनि अहिले भत्किन थालेको छ । २०६१ सालमै बनाएको शौचालय पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भने छानो समेत चुहिन्छ ।
उर्लाबारी नगरलाई विक्रम सम्बत २०६८ चैत २८ गते खुला दिसामुक्त घोषणा गरिएको हो ।
विराटनगरपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र उर्लाबारीमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा व्यापारी तथा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ । उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु दुःखद् भएको मोरङ, रतुवामाई नगरपालिकाबाट व्यापारिक कामले उर्लाबारी आएका जीवन भण्डारीले दुखेसो गर्नुभयो ।
घुम्ती शौचालय वेवारिसे अवस्थामा
तत्कालीन उर्लाबारी गाविसलाई खुला दिसामुक्त घोषणा गरेपछि गाविस र प्लान नेपालको सहयोगमा एउटा घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो । उक्त शौचालय दिनभर सार्वजनिक स्थलमा राखिन्थ्यो ।
तर खुला दिसामुक्त क्षेत्र घोषणा समितिको तीनबर्षे कार्यकाल सकेपछि तत्कालीन गाविसलाई घुम्ती शौचालय हस्तान्तरण गरेपछि भने सञ्चालनमा आउन सकेन । गाविसले व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा अहिले बेवारिसे बनेको छ ।
उर्लाबारीमा दैनिक धेरै सवारी साधन ओहोरदोहोर गर्छन् । उत्तरी र दक्षिणी मोरङमा उर्लाबारीबाटै दैनिक उपभोग्य सामान जाने हुँदा किनमेल गर्न आउनेको भीड लाग्छ । तीव्र शहरीकरण भएको उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन् ।
नगरको मुख्य चोक, मंगलबारे, आइतबारे, बरगाछी लगायत स्थानमा नगरपालिकाले व्यवस्थित सार्वजनिक शौचालय नबनाउँदा समस्या हुने गरेको छ । यस्तो समस्या पुरुषलाई भन्दा अझ महिलालाई बढी छ ।
जग्गा अभावमा शौचालय बनाउन कठिन
सार्वजनिक शौचालय आवश्यकताका विषयमा बेला बेलामा वहश हुने गरेपनि जग्गामा पुगेर अल्झिने गरेको छ । उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराईका अनुसार नगरमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग पहल भइरहेको छ ।
सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग विभिन्न चरणमा छलफल गरिए पनि उपयुक्त जग्गाको अभावमा निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेपनि सार्वजनिक जग्गा नहुँदा समस्या भएको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले बताउनुभयो । मुख्य चोकमा रहेको सार्वजनिक शौचालय पनि नेपाल बैंक लिमिटेडको जग्गामा रहेकाले व्यवस्थित बनाउन नसकिएको नगर प्रमुख फागोले बताउनुभयो । ‘अहिले जग्गाको खोजी भइरहेको छ, जग्गा प्राप्त हुने बित्तिकै शौचालय निर्माण गर्नेछौं’ नगरप्रमुख फागोले भन्नुभयो ।


628 पटक हेरिएको 

