एकैसाथ तीन टोल पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

🔗
9
Shares

सल्यान : सल्यान जिल्लामै पहिलो पटक एक साथ तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ‘बेमौषमी तरकारी खेतीले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा, हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’ भन्ने नारा सहित कपुरकोट गाउँपालिका वडा नम्बर ६ को तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

 

कपुरकोट गाउँपालिका, खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति वडा नम्बर ६ को आयोजना र सुआहारा कार्यक्रम सल्यानको सहयोगमा रातामाटा, स्यानीखाल र रामीडाँडा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगरले अवदेखि सधै पूर्ण सरसफाइ गर्नका लागि कसम खुवाउनुभयो । तीनवटा टोलका वासिन्दाहरुले अवदेखि सबैको घरमा सुरक्षित चर्पी कायम राख्ने र नियमित चर्पीको प्रयोग गर्ने, खाना बनाउनु, खाना खानु, खुवाउनु अघि, दिशा धोएपछि, फोहोर छोएपछि अनिवार्य साबुनपानीले मिचिमिची हात धुने प्रतिवद्धता जनाएका थिए ।

यस्तै उनीहरुले आफ्नो टोललामा व्यक्तिगत सरसफाइ, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय स्वास्थ्य संस्था एवं कार्यालयमा वातावरण सफा राख्ने प्रतिवद्धता पनि जनाएका थिए ।

 

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुढाले पूर्ण सरसफाइका क्रियाकलापहरु निरन्तर जारी राख्नुपर्ने बताउनुभयो । ‘सरसफाइबाट धेरै प्रकारका रोगहरुलाइ टाढा राख्न सकिन्छ, त्यसैले यसको महत्व धेरै छ । अव हाम्रो गाउँपालिकाका अन्य टोल र वडाहरुलाइ पनि पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणाका लागी पहल भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा सुआहारा कार्यक्रमका क्षेत्रीय कार्यालय नेपालगञ्जका वास संयोजक बलराम सिग्देलले सरसफाइ नियमित गरिरहनुपर्ने काम भएकाले रातामाटा, स्यानीखाल र रामीडाँडालाइ स्वच्छ र सफा राख्न सबैको समान दायित्व हुने बताउनुभयो ।

साविकको सिनवाङ र रिम गाविसमा सुआहारा कार्यक्रमले डेढ वर्ष अघि देखि पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अव कपुरकोट ५ र ६ का अन्य टोलहरुलाइ पनि पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणाका लागि पहल थालिने सुआहारा सल्यानका सरसफाइ अधिकृत किरण ढुंगानाले जानकारी दिनुभयो ।

यसअघि सल्यानको सिरुवार, बागचौर बजार, जोगिदेउखोला र लस्तमज्युला टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार