ओडिएफ घोषणाको नयाँ मिति तय, सन् २०१८ भित्र खुला दिसामुक्त नेपाल

काठमाडौ : भूकम्प, नाकाबन्दी, बाढी पहिरो तथा डुबान र चुनाव लगायत कारणले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नभएपछि नेपालले खुला दिसामुक्त घोषणाको लक्ष्य एक बर्ष थप गरेको छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने मिति थप गरिएको लिखित निर्णय नभएपनि हालै पाकिस्तानको इस्लामावादमा सम्पन्न सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपालले सन् २०१८ भित्र खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने प्रतिबद्धता जनाएको हो ।

विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, सरकारी निकाय लगायतको सल्लाह सुझावको आधारमा पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले नेपालले सन् २०१८ भित्र सबै जिल्ला तथा प्रदेशलाई खुला दिसामुक्त गर्दै राष्ट्रलाई नै खुलादिसामुक्त घोषणा गरिने बताउनुभयो ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको यो प्रतिबद्धताले सन् २०१८ भित्र खुला दिसामुक्त राष्ट्र घोषणा गर्नै पर्ने दबाब सिर्जना भएको खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिज्नल इन्जिनियर प्रेमकृष्ण श्रेष्ठले बताउनुभयो ।

वास खबरसँग कुराकानी गर्दै इन्जिनियर श्रेष्ठले भन्नुभयो ‘हामीले अन्तर्राष्ट्रिय समुदाय सामु वाचा गरेका दुई वटा प्रतिबद्धताहरु पूरा गर्न अब योजनाबद्ध ढंगले अघि बढ्न आवश्यक छ, त्यो हो सन् २०१८ भित्रै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने र अर्को सरसफाइमा राखेको दिगो विकास लक्ष्य पूरा गर्न तर्फ ध्यान केन्द्रित हुने, यसका लागि खुलादिसामुक्त अभियानका लागि सरसफाइ गुरुयोजना बनाए जस्तै पूर्ण सरसफाइका लागि पनि हामीले गुरुयोजना नै बनाएर अघि बढ्नुपर्छ ।

सन् २०११ मा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि हालसम्म ५० जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । हालसम्म ९७ प्रतिशत नेपालीको घरमा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार