चर्पी भत्काउदै सामाजिक अभियानकर्ता

🔗
8
Shares

विनोद धौलागिरि, गरामनी (झापा)

खुल्ला दिसामुक्त अभियान अन्तिम संघारमा पुगेको झापाका सहरी क्षेत्रमा धमाधम चर्पी भत्काउने अभियान थालिएको छ । मापदण्डविपरीतका चर्पीले खुल्ला दिसामुक्त घोषणालाई नै प्रभावित गर्ने भएपछि अभियानकै रुपमा असुरक्षित चर्पी भत्काउने अभियान थालिएको सरसफाइ अभियानकर्ता नमिता बस्नेत काफ्लेले बताउनुभयो ।

यही मार्च अन्तिममा अद्यावधिक गरिएको तथ्यांकअनुसार झापा जिल्लामा ९ हजार ५ सय ७८ घरधुरीमा सुरक्षित चर्पी बन्न बाँकी छ । यसमध्ये सहरी क्षेत्रका घरधुरीमा खुल्लामा दिसा गर्नेभन्दा पनि असुरक्षित चर्पी बढी रहेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

“वडागत रुपमा चर्पी भत्काउन सुरु गरिएको छ । सुरक्षित चर्पी नबनाउने र बनाएर पनि असुरक्षित चर्पी नभत्काउनेहरुको चर्पी अभियानकर्ताहरुले भत्काइदिने गरेका छौं”, काफ्ले भन्नुहुन्छ, “अहिले दुई दिनमा वडा नं. ८ मा मात्र ३० चर्पी भत्काइसकिएको छ । अब वडा नं. ९ मा बाँकी रहेका असुरक्षित चर्पी भत्काउने काम सुरु हुन्छ ।”

सबैभन्दा धेरै असुरक्षित चर्पी बिर्तामोड नगरपालिकाको गरामनीमा रहेका छन् । अभियान थालनी हुनुअघि हाल वडा नं. ७, ८, ९ र १० रहेको गरामनीमा रहेका ५ हजार ४ सय ३७ घरधुरीमध्ये ३ हजार ६ सय १३ घरमा सुरक्षित चर्पी रहेका थिए भने चर्पी बन्न बाँकी १ हजार ७ सय ११ घरधुरीमध्ये १ हजार ६८ घरधुरीमा असुरक्षित शौचालय रहेका थिए ।

“हामीले चर्पीमा दिसा गरिरहेका छौं, सुरक्षित चर्पी विस्तारै बनाए पनि हुन्छ भन्दै चर्पी बनाउन हेलचक्राइ गर्ने र छिमेकीहरुलाई समेत चर्पी नबनाउनका लागि उकास्ने गरेको पाइयो”, सहारा नेपालका खुल्ला दिसामुक्त अभियान संयोजक किसन गौतम भन्नुहुन्छ, “त्यसैले असुरक्षित चर्पी भत्काउन बढी बल लगाउनुपर्ने अवस्था आयो ।”

पछिल्लो अद्यावधिक तथ्यांक अनुसार गरामनीमा कूल ७ सय ६२ घरधुरीमा सुरक्षित शौचालय बन्न बाँकी छ । यसमध्ये चार सयभन्दा बढी अस्थायी चर्पी वडा नं. ७ र १० मा रहेका छन् । वडा नं. ८ मा भत्काउन बाँकी रहेका असुरक्षित चर्पी भत्काइसकिएको छ भने वडा नं. ९ मा भत्काउने कामको थालनी गरिएको छ । दुई दिनसम्म पनि अटेर गरी नभत्काउनेको अभियानकर्ताहरुले भत्काउने योजना बनाइएको छ ।

यस्तै समस्या रहेको छ भद्रपुर नगरपालिकाको वडा नं. १ र २ मा । हाल भद्रपुरमा गाभिएको साविक पृथ्वीनगरमा सुरक्षित चर्पी बन्न बाँकी रहेका ४ सय ५ घरधुरीमध्ये अधिकांश असुरक्षित चर्पी रहेको सरसफाइ अभियान सहजकर्ता रमला अधिकारीले बताउनुभयो । “यहाँ अझै पनि ३ सयभन्दा बढी असुरक्षित चर्पी रहेका छन् । चर्पी नै नहुनेहरुलाई चर्पी बनाउन लगाउनभन्दा असुरक्षित चर्पी भत्काउन लगाउन कठिन भयो”, अधिकारीले भन्नुभयो, “आजदेखि अन्तिम चेतावनीपत्र दिने र दुई दिनभित्र नभत्काएमा अभियानकर्ताहरुले नै भत्काउनेगरी निर्णय भएको छ ।”

असुरक्षित प्यान सबैभन्दा जोखिम

सरसफाइ गुरुयोजना २०६८ जारी हुनुअघि प्रयोग भएका सिमेण्ट प्यानसहितका चर्पी भत्काउनु सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । वाटरसिल गराउने साइफन नभएका त्यस्ता प्यान प्रयोग गरेर बनाइएका अधिकांश चर्पीको माथिल्लो संरचना समेत पक्की बनाइएको छ ।

“चर्पी बनाउने बेलामा कसैले केही भनेनन्, बजारमा यस्तै प्यान पाइन्थ्यो, यही राखियो”, बाह्रदशी गाउँपालिका, वडा नं. ६ र ७ को संयुक्त कार्यालयसँगै रहेका टीकाराम भट्टराई भन्नुहुन्छ, “त्यसबेलाको डाँगिबारी गाविसले समेत तीन वर्ष यही चर्पी प्रयोग गरेको थियो । अहिले यो चर्पी भएन, प्यान फेर भन्छन्, भत्काउनै मुस्किल भएको छ ।” साविक डाँगिबारी गाविसमा खुल्लामा दिसा गर्नेहरुले चर्पी बनाइसके पनि भट्टराईजस्तै असुरक्षित प्यान प्रयोग गरेका घरधुरीमा भने समस्या बाँकी नै रहेको छ ।

कूल १ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापा जिल्लामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा खुल्ला दिसामुक्त अभियान सञ्चालन हुँदा ३९ हजार १ सय ३५ घरधुरीमा सुरक्षित चर्पी निर्माण गर्न बाँकी थियो, जसमध्ये १० हजारभन्दा बढी घरधुरीमा असुरक्षित चर्पी बाँकी रहेका थिए ।

प्रशासनिक बलको खोजी

जिल्लाको खुल्ला दिसामुक्त घोषणाको मिति नजिकिदै गर्दा असुरक्षित चर्पी स्तरोन्नति गर्नु र हटाउनु नै सबैभन्दा चुनौतिको रुपमा देखिएको छ । “प्रशासनिक बल लगाउनैपर्ने देखिन्छ”, पृथ्वीनगरका सामाजिक अगुवा फणिन्द्र दाहाल भन्नुहुन्छ, “असुरक्षित चर्पी भत्काउन जनप्रतिनिधि तयार हुँदैनन्, अरु कसले जोखिम मोल्ने ? त्यसैले प्रहरीलाई अघि लगाएर असुरक्षित चर्पी नभत्काएसम्म पृथ्वीनगर खुल्ला दिसामुक्त हुन सक्तैन ।”

यस्तै अवस्था रहेको छ गौरादह नगरपालिकामा समेत । गौरादहमा सुरक्षित चर्पी बन्न बाँकी रहेका १ हजार ६ सय १० घरधुरीमध्ये करिब ३ सय घरधुरीमा असुरक्षित चर्पी रहेका छन् । कचनकवल गाउँपालिका, वडा नं. २ र ३ पथरियामा मात्र १ सय ५० भन्दा बढी असुरक्षित चर्पी रहेका छन् । “भोलि विहानदेखि घरदैलो गरी अन्तिम चेतावनीपत्र दिने र सुरक्षित चर्पी निर्माणसँगै असुरक्षित चर्पी भत्काउने अभियान सुरु हुँदैछ”, विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकको भनाइ छ ।

जनप्रतिनिधि डराए

भर्खर भर्खर चुनाव जीतेर आएका जनप्रतिनिधिले पाँच वर्षपछि हुने चुनावमा आफू उम्मेदवार भएमा भोट कम पाउने डरले अहिले असुरक्षित चर्पी भन्काउन लगाउन डराएको बताउनुहुन्छ पृथ्वीनगरका सरसफाइ अभियानकर्ता रमला अधिकारी । “जनप्रतिनिधिहरु सारो बोल्न पनि डराउनुहुन्छ”, उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधिलाई भोटकै चिन्ता छ ।”

यसै भनाइमा सही थप्नुहुन्छ ज्यामिरगढीकी सरसफाइ अभियान सहजकर्ता जानुका भट्टराई । “चर्पी बनाउन अनुरोध गर्दै घरदैलो गर्दा समेत वडाअध्यक्ष सारो बोल्न डराउनुहुन्छ”, भट्टराईको प्रश्न छ, “वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नै बोल्न डराएपछि कसरी सरसफाइ प्रवद्र्धनको थिति बस्छ ?”

सरसफाइ प्रवद्र्धनको अभियानमा वडा अध्यक्ष डराएका कारण पनि योजनाअनुसार प्रगति नभएको बताउनुहुन्छ सरसफाइ अभियानकर्ता सोमनाथ आचार्य ।

“अरु ठाउँमा मैले सम्झाउन सक्छु, तर मेरै वडामा मैले केही पनि बोल्न सक्तिन भन्नुहुन्छ वडाअध्यक्षहरु नै”, आचार्यको भनाइ छ, “आफ्नो वडामा बोल्न डराउनेहरुले कसरी अभियानको नेतृत्व गरेर समुदायलाई पूर्ण सरसफाइयुक्त बनाउनुहोला ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार