जुम्लाका आठ गाउँ छुईगोठमुक्त घोषणा

जुम्ला : जुम्लाका ग्रामीण बस्तीलाई धमाधम छुईगोठमुक्त घोषणा गर्न थालिएको छ । सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमले छाउपडी सामाजिक कुसंस्कार रहेछ भन्ने बुझेपछि महिलाकै सक्रियतामा गाउँबस्तीलाई छुईगोठमुक्त घोषणा गर्न थालिएको हो ।

गाउँमै गठन भएका विभिन्न महिला समूह, सहकारी संस्थाले गरेको छलफल तथा चेतना अभिवृद्धिका कारण गाउँमा छुईगोठमुक्त घोषणाको लहर चलेको हो ।

धामीझाँक्री समेत छाउगोठमुक्त अभियानमा

महिनावारी हुँदा गोठमा बस्दा हुने विभिन्न समस्यालाई बुझ्दै गाउँका धामीझाँक्री पनि कार्यक्रममा सहभागी भएपछि जिल्लाका विभिन्न बस्ती छाउमुक्त घोषणा हुँदै गएका छन् । धामी झाँक्री समेत छुईगोठमुक्त अभियानमा सक्रियताका साथ लागेपछि महिलालाई छाउपडी प्रथा त्याग्न आत्मबल मिलेको महिलाहरु बताउँछन् ।

छाउपडी प्रथा त्यागेर गाउँलाई छाउगोठ घोषणा गरेपछि यसको सकारात्मक परिणाम देखिन थालेको छ । जैतपुर गाउँकी स्थानीय महिला सम्झना कामीले भन्नुभयो ‘हामी पिँजडाको सुगा जस्तै थियौँ । अहिले मुक्त भएको आभास भएको छ ।’ उहाँले किरा फट्यांग्राले टोक्ने, बलात्कृत हुने लगायत डर मनमा पालेर गोठमा बस्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको बताउनुभयो । त्यस्तै, छाउगोठमुक्त अभियानमा सक्रिय मस्टोका धामी मुनबहादुर कामीले छुई हुँदा घरमा बसेपछि देवता रिसाउने भ्रम रहेको बताउनुभयो ।

तातोपानी गाउँपालिका प्रमुख नवराज न्यौपानेले नमुना गाउँपालिकाको पहिलो खुट्किलो स्वरूप छाउमुक्त घोषणा भएको बताउनुभयो । ‘समृद्धिको सुरुवात हरेक वडाबाट हुनुपर्छ । सदियौँदेखिको कुसंस्कार हटाउन हामी सबैको उत्तिकै जिम्मेवारी तथा भूमिका हुनुपर्छ ।’ उहाँले भन्नुभयो । जुम्लाको तातोपानी गाउँपालिकाको जैतपुर, हियाखोला र श्रीनगर, तिला गाउँपालिकाको रावतवाडा, जोगीवाडा, ढिमकोट र पातासरी गाउँपालिकाको माथिल्होर्प र तलिल्होप गरी आठ गाउँबस्ती छुईगोठमुक्त घोषणा भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार