सिन्धुली ५१ औं खुल्ला दिसामुक्त जिल्ला

बुद्ध नेपाली, सिन्धुली : सिन्धुली जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । विहीबार सिन्धुलीमाढीमा खानेपानी तथा सरसरफाइमन्त्री विना मगरले नेपालको ५१ औं जिल्लाका रुपमा सिन्धुलीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो । संघीय संरचना अनुसार ७७ जिल्ला मध्ये यसअघि ५० जिल्ला खुलादिसामुक्त घोषणा भइसकेका छन् । 

 

सिन्धुलीको सबै घर तथा संघसंस्थाको कार्यालय र सार्वजनिक स्थानमा समेत शौचालय बनेपछि सिन्धुलीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुलीका अनुसार ५८ हजार ७ सय ९६ घरधुरी रहेको सिन्धुलीमा ५८ हजार २१० व्यक्तिगत चर्पी निर्माण भएको छ । २ सय ९३ घरपरिवारले संयुक्त चर्पी प्रयोग गर्छन् । व्यक्तिगत तथा संस्थागत र सार्वजनिक गरी जिल्लामा ५९ हजार ९८ वटा चर्पी निर्माण भएका छन् ।

कार्यालयका अनुसार ५ सय ८१ विद्यालयको चर्पी र १४ वटा सार्वजनिक चर्पा निर्माण भएको छ ।  वि.स २०६९ सालमा खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि खानेपानी तथा सरसफाइ सम्बन्धी रणनीतिक कार्ययोजना २०६९ सिन्धुली निर्माण गरी सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषण गर्ने लक्ष्य तय गरी सोही अनुसार गतिविधीहरु संचालन गर्दै आएका थिए । तर सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषण हुन सकेन ।

२०६८ साल चैत ४ गते साविक महादेवडाँडालाई जनकपुर अञ्चलकै पहिलो खुल्ला दिसामुक्त गाविस घोषणा गरी सुरु भएको अभियान २०७४ साल फागुन १४ गते दुधौली नगरपालिका खुल्ला दिसामुक्त घोषणा भए पश्चात जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणाको आधार खुलेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुलीका प्रमुख धु्रवदेव प्रसाद कुम्हालले जानकारी दिनुभयो ।

सिन्धुली आधारभुत सरसफाइमा १०० प्रतिशत र खानेपानी ८५ प्रतिशत उपलब्ध रहेको कार्यालयका प्रमुख कुम्हालले जानकारी दिनुभयो । पुर्ण सरसफाइ मार्गदर्श २०७३ निर्माण भइसकेकाले “सफा स्वच्छ वातावरण, घर आगनमा चर्पी अनि धारा, सुन्दर सफा सिन्धुली अवको हाम्रो अभिभारा” भन्ने मुल नाराका साथ सरसफाइ स्वच्छताको दिगोपन कायम राख्नका लागि पुर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु संचालन हुने कार्यालयका प्रमुख कुम्हालले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार