पानी र लेदोसँगै ताजा दिसा बग्छ अदुवा खोलामा (फोटो फिचर सहित)

 

हिमाल खरेल, विर्तामोड, झापा : नेपालको पूर्वी प्रवेशद्वारको रुपमा चिनिने झापा जिल्लाको बिर्तामोड हुँदै बग्ने अदुवा खोलामा पानी मात्र बग्दैन, यस सँगै पहेंलै ताजा दिसा समेत बग्छ । व्यवस्थित ढल नहुँदा बजारको सबै तरल फोहर अदुवा खोलामा नै मिसिन्छ । यससँगै खोलाको दायाँ बायाँ बनाइएका चर्पीहरुको लेदो सिधै खोलामा मिसाउँदा खोला नै दूर्गन्धित भएको छ ।

 

अदुवा खोला छेउमा बनाइएको दिसा गर्ने ठाउँ जहाँको दिसा सिधै खोलामा पुग्छ

शुक्रबार विर्तामोड सरसफाइको सयौं हप्ताको कार्यक्रम मनाइरहँदा नगर उपप्रमुख पवित्रा महतरासहित जिल्लाका सरसफाइ साझेदारहरुको टोलीले नगरको मध्यभागमा पर्ने अदुवा खोला किनारमा रहेका घरहरुको सरसफाइ अवस्थाको अनुगमन ग¥यो ।

बिर्तामोड नगरपालिका, वडा नं. ३ ले वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न सम्पूर्ण आधारहरु पूरा भैसकेकोले अनुमगन गरी घोषणाका लागि स्वीकृति प्रदान गर्न अनुरोध गरेपछि जिल्लाका साझेदारहरुको टोलीले वडा नं. ३ मा अनुगमन गर्दा खोला किनारमा रहेका घरहरुले दिसालाई खाडलमा समेत जम्मा नगरी सिधै खोलामा मिसाउने गरेको भेटिएको हो ।

 

अदुवा खोलामा सिधै मिसाइएको ताजा दिसा, र साथमा असुरक्षित चर्पी

सबैले मिसाउँछन्  खोलामा दिसा

अदुवा खोलामा ताजा दिसा मिसाउने र सेप्टिक ट्यांक भरिएपछि भल्ब खोली दिसा मिसाउनेमा सुकुम्बासीदेखि सामाजिक र राजनीतिक अगुवाहरु सबै रहेका छन् । कटकबहादुर बूढाथोकी, तेजकुमार ओली, कृष्ण पाठक र सूर्य राजवंशीसम्मले दिसाको लेदो खोलामा मिसाउने गरेका छन् ।

 

सेप्टिक ट्यांकबाट खोलामा दिसा मिसाउने पाइप (रातो घेरामा)

“सबै ठूलाबढाले मिसाउँछन्, हामीले पनि मिसायौं”, तेजबहादुर बर्देवाले भन्नुभयो, “मिसाउनु हुँदैन भन्ने पनि थाहा थिएन, अरुले जे गरेका थिए हामीले पनि त्यही गरेका हौं । अरुले हटाए हामीले पनि हटाउछौं ।”
गन्धक चौधरीले समेत पानीमा दिसा मिसाउनु अपराध भएको भन्ने जानकारी नभएको बताउनुभयो । “अब थाहा भयो, टंकी बनाएर दिसा जम्मा गर्दैछौं”, उहाँले भन्नुभयो ।

शंकर ठाकुर र मंगल दासले समेत सुरक्षित चर्पी बनाएका छैनन्, र चर्पीमा दिसा जम्मा नगरी खोलामा नै बग्ने बनाएका छन् ।

समस्या, वडा नं. ३ कोमात्र होइन । कचनकवल गाउँपालिका, वडा नं. १ घेराबारीसम्म पुग्ने अदुवा खोलाको छेउमा हुने अधिकांश घरधुरीले यसैगरी दिसाजन्य लेदो खोलामा मिसाउने गरेका छन् ।

खुल्ला दिसामुक्त घोषणा गर्न नै समस्या

खोलामा दिसा मिसाउने गरेको भेटिएपछि विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्न नै समस्या देखिएको छ । सरसफाइ गुरुयोजना २०६८ ले खुल्लामा दिसा देखिएमा कुनै पनि क्षेत्र खुल्ला दिसामुक्त घोषणा गर्न नपाइने उल्लेख गरेको छ ।

विर्तामोड नगरपालिकाका वडा नं. १, २, ५ र ६ खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् भने वडा नं. ३ का धेरै घरधुरीमा चर्पी बनेको भए पनि चर्पीको दिसालाई सिधै खोलामा मिसाउने गरेका कारण खुल्ला दिसामुक्त घोषणा हुन सक्तैन । यसैगरी वडा नं. ४ मा समेत यो समस्या बाँकी छ ।

 

अदुवा खोलामा सिधै मिसाइएका पाइपहरु

खुल्ला दिसामुक्त अभियानमा आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले चर्पीको लेदो खोलामा मिसाउन बन्द नभएसम्म खुल्ला दिसामुक्त घोषणा गर्न नसकिने बताउनुभयो । “यो खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने निकायकोमात्र समस्या होइन, नगरपालिका र सिंगो जिल्लाको समस्या हो”, उहाँले भन्नुभयो, “अधिकारसम्पन्न नगरपालिका छ, अहिलेका कानुन अपुग भएमा नयाँ कानुन बनाएर भए पनि यो समस्या समाधान गर्नैपर्छ ।”

 

अदुवा खोला छेउमा रहेको असुरक्षित चर्पी जसबाट दिसा सिधै खोलामा मिसाइएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले अनुगमनमा देखिएका तथ्यहरुलाई जस्ताको त्यस्तै प्रतिवेदनमा समावेश गरी नगरपालिकामा बुझाउने बताउनुभयो । “यो समस्या समाधान नगरी अघि बढ्न सकिदैन”, उहाँले भन्नुभयो, “यो जिल्लाकै समस्या हो, अहिले आलटाल गरेर खुल्ला दिसामुक्त घोषणा गरेरमात्र हुँदैन, यसलाई पहिले नै समाधान गर्नुपर्छ ।”

कसुर गर्नेलाई कारवाही गर्छु : उपप्रमुख

अनुगमन टोलीमा सहभागी विर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतराले अदुवा खोलामा ढल मिसाउने गरेको यसअघि आफूले देखेको र समाचारमा समेत पढेको भए पनि ताजा दिसा नै मिसाउने गरेको भने जानकारी नभएको बताउनुभयो ।

“विकसित र सभ्य नगरपालिकामा यस किसिमको हर्कत भैरहेको होला भन्ने थाहा थिएन, अहिले आफै देख्न पाइयो”, उहाँले भन्नुभयो, “यो कानुनको ठाडो उल्लंघन र सामाजिक अपराध भएकोले आवश्यक परेमा नयाँ नीतिगत निर्णय गरेर भए पनि कारवाहीको दायरामा ल्याउँछु ।”

खोलामा दिसा मिसाउने परिवारसँग कुराकानी गर्दै नगर उपप्रमुखसहितको अनुगमन टोली

फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को नं. च, छ, ज र ञ ले सेप्टिक टंकीको फोहरलाई बाहिर चुहाउने, खोलामा मिसाउने, सार्वजनिक स्थानमा फाल्ने लगायतका कार्यलाई कसुर मानेको छ । ऐनकै दफा ३९ अनुसार यस किसिमको कसुर गर्नेलाई पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार दिएको छ ।

यसैगरी स्थानीय निकायले तोकेको ठाउँमाबाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी कुनै पनि स्थानमा कुनै किसिमको हानीकारक फोहरमैला राख्ने, फाल्ने, थुपार्ने वा निस्काशन गर्नेलाई ऐनले कम्तिमा ३० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार