बदलियो, चर्पी बनाउन चुनौतीपूर्ण जिल्लाको सूची

काठमाडौ : कुनै समय सरसफाइको दृष्टिकोणले चुनौतीपूर्ण जिल्लाको नाम लिंदा पूर्वी तराईका जिल्लाहरुको नाम अग्रपंक्तिमा आउँथ्यो, तराईका कतिपय जिल्ला अहिले पनि चुनौतीपूर्ण सूचीमा त छन् नै, थप अरु जिल्ला पनि चुनौतीपूर्ण सूचीमा थपिएका छन् ।

खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाले तयार पारेको चुनौतीपूर्ण जिल्लाको सूचीमा काभ्रे र कपिलवस्तुको नाम समेत थपिएको छ । विभागका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, झापा, कपिलवस्तु र काभ्रेमा सरसफाइ सम्बन्धी कार्यक्रमले गति लिन नसकेको हो ।

सरसफाइ सम्बन्धी कार्यक्रम प्रभावकारी हुन नसकेका, सञ्चालित कार्यक्रमबाट अपेक्षित परिणाम आउन नसकेका र लामो समयदेखि प्रगति बढाउन नसकेका जिल्लालाई चुनौतीपूर्ण जिल्लाको रुपमा वर्गीकरण गरिएको खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले बताउनुभयो ।

‘हामीले सन् २०१८ भित्र त देशलाई खुलादिसामुक्त राष्ट्र घोषणा गर्नु नै छ, त्यसैले बढी चुनौतीपूर्ण जिल्लामा बढी नै शक्ति केन्द्रित गर्नुपर्ने भएकाले बर्गीकरण गरेका हौं’ उहाँले भन्नुभयो ।

चुनौतीपूर्ण सुचीमा रहेका जिल्लाहरुमा विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, सरकारी निकाय सबैको एकीकृत बलको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

संघीय संरचना अनुसार नेपालको ७७ जिल्ला मध्ये ५१ जिल्ला खुलादिसामुक्त घोषणा भइसकेका छन् । यही वैशाख २९ गते दार्चुलालाई समेत खुला दिसामुक्त घोषणा गर्ने मिति तय भइसकेको छ । विभागका अनुसार अब ३ प्रतिशत नेपालीको घरमा मात्र चर्पी बन्न बाँकी छ । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार