मोदीको अभिनन्दनका लागि सरसफाइ सहित १८ उपसमिति गठन

काठमाडौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काठमाडौँ महानगरपालिकाले सरसफाइ सहित १८ उपसमिति गठन गरेको छ ।
महानगरपालिकाले सरसफाइ सहित निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मत सम्भार, रङरोगन जस्ता काम गर्न विभिन्न १८ वटा समिति गठन गरेको महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले बताउनुभयो ।

महानगरपालिकाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी आउन नहुने र अहिले गरिएको सरसफाइ र मर्मतको काम लामो समयसम्म टिकाउ हुने तरिकाले गर्न उपसमितिलाई आग्रह गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । उहाँले पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्नु हुनेछ । त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २ः४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार