विनोद कुमार महतो, धनुषा : धनुषा जिल्लालाई अगामी असार २० गतेसम्म खुल्ला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) ले अपिल गरेको छ । डिवाससिसिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादवले असार २० गतेसम्म जिल्लालाई नै खुल्ला दिसामुक्त बनाउन सरसफाइ अभियन्ता एवं स्थानीय निकाय र सरोकारवालालाई अपिल गर्नुभएको हो ।
सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित डिवाससीसीको विस्तारित बैठक तथा अभियानकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो ‘अन्तिम धक्का लगाएर यो गुहँसँगको लडाईमा युद्ध जित्नै पर्छ ।’ स्वास्थ्य, स्वच्छता, इज्जत, प्रतिष्ठा, सुरक्षा र आत्मसम्मानको लागि एक घर एक चर्पी निर्माण गरी जिल्लालाई असार २० गतेसम्म जुनसुकै हालतमा खुल्ला दिसामुक्त बनाउन सबैलाई जोडतोडका साथ लाग्नुपर्नेमा अध्यक्ष यादवले जोड दिनुभयो ।
विगतमा धेरै प्रतिबद्धताहरु फेल भएको प्रति दुखेसो पोख्दै अध्यक्ष यादवले अबको प्रतिबद्धता फेल नहुने गरी तिव्रताका साथ स्थानीय निकाय, सरोकारबला तथा अभियन्तालाई अभियानमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले सरसफाइ अभियन्तालाई धनुषालाई प्रदेश नं. २ को तेस्रो खुल्ला दिसामुक्त जिल्ला बनाउन अन्तिम धक्का लगाएर सम्मानको माला लगाउन आग्रह समेत गर्नुभयो ।
यस्तै डिवाससिसिको बैठक तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोहम्द जक्की अहमद अन्सारीले जिल्ला खुल्ला दिसामुक्तका लागि जोडबलका साथ अन्तिम धक्काको खाँचो रहेको बताउनुभयो । उहाँले असार २० गतेसम्म जिल्ला घोषणा गर्न अब कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रमलाई डिवाससिसिका कार्यदल संयोजक विजय कुमार यादव, कार्यदल सदस्य एवं खानेपानी कार्यालयका सरसफाइ फोकल पर्सन विजय यादव, युनिसेफका वास अफिसर राकेश मल्लिक, युएन ह्याविट्याटका जिल्ला संयोजक उमा सिम्खडाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा एकसय भन्दा बढी सरसफाइ र अभियान सम्बद्ध संघसंस्थाका अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अभियन्ताहरुले समेत २०७५ असार २० गतेसम्म जिल्लालाई नै घोषणा गर्ने गरी आफुहरुले जिम्मा पाएको साविकका गाविस, नगरपालिका, गाउँपालिकाका वडाहरुमा चर्पी निर्माण कार्यलाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् ।
धनुषा जिल्लामा अहिले ९२ प्रतिशत घरधुरीमा सरसफाइ तथा चर्पीको पहुँच रहेको तथ्यांक समेत प्रस्तुत गरिएको थियो ।
धनुषाको १ लाख ४२ हजार ३ सय ५० घर मध्ये अब ११ हजार २ सय ७१ घरधुरीमा मात्र चर्पी बनाउन बाँकी रहेको डिवाससिसिले जनाएको छ । जिल्लामा अहिले साविकको ११ वटा गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि डिवाससिसिबाट प्रमाणीकरण गुणस्तर अनुगमन गरि सकिएको छ, भने ६ वटा गाविसको प्रमाणीकरण अनुगमनको लागि डिवाससिसिले पत्र पाएको कार्यदल संयोजक विजय कुमार यादवले बताउनुभयो । यसैबीच आज साविकको बालाबाखर गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको छ ।


744 पटक हेरिएको 

