दार्चुला : दार्चुला जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा दार्चुलालाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्त घोषणा हुनेमा दार्चुला, प्रदेश नम्बर ७ को आठौं तथा देशको ५२ औँ जिल्ला हो ।

‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूल नाराका साथ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख करवीर सिंह कार्कीले प्रतिबद्धता वाचन गर्दै दार्चुला खुला दिसामुक्त भएको घोषणा गर्नुभयो ।
दार्चुलालाई सन् २०१६ मै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए दुई बर्षपछि मात्र सन् २०१८ मा आएर खुला दिसामुक्त घोषणा गरिएको हो । अहिले जिल्लाभर २६ हजार २६ घरधुरी तथा सार्वजनिक स्थलमा शौचालय निर्माण भएका छन् ।
साविकको धारी गाविसलाई २०६६ साल असोज ५ गते खुला दिसामुक्त घोषणा गरेपछि सरसफाइ अभियानको शुरुवात भएको थियो । खुला दिसामुक्त घोषणा गर्न बाँकी महाकाली नगरपालिकालाई समेत २०७४ साल माघ १५ गते खुला दिसामुक्त घोषणा गरेपछि जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने आधार तय भएको हो ।

दार्चुलामा ९७ प्रतिशत सुधारिएका शौचालय र तीन प्रतिशत शौचालय कच्ची रहेका छन् । २०६८ सालमा १४ प्रतिशत बाट शुरु भएको सरसफाइको पहुँच अहिले शत प्रतिशत पुगेको छ ।


726 पटक हेरिएको 

