काठमाडौ : प्रदेश नं. १ को झापा, मोरङ र सुनसरी जेठ महिनाभित्रै खुला दिसामुक्त घोषणा हुने भएका छन् । खानेपानी तथा ढल निकास विभागबाट गएको टोली समक्ष सम्बन्धित जिल्लाको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का पदाधिकारीले जेठ महिनाभित्रै खुलादिसामुक्त घोषणा गर्ने कार्ययोजना बनाएर प्रस्तुत गरेका हुन् ।
विभागका उप महानिर्देशक मनोज घिमिरे नेतृत्वको टोलीले यही वैशाख २९ गते झापा, ३० गते सुनसरी र ३१ गते मोरङमा स्थानीय तहका साझेदारहरुसँगको अन्तरक्रिया गोष्ठी गरेको थियो । टोलीमा विभागको वातावरणी सरसफाइ शाखाका प्रमुख देवेन्द्र कुमार झा, समाजशास्त्री कमल अधिकारी तथा भोजेन्द्र अर्याल र इञ्जिनियर चेतनारायण श्रेष्ठ हुनुहुन्थ्यो ।
गोष्ठीमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पुर्तेलले विश्व वातावरण दिवसको अवसर पारेर झापालाई खुला दिसामुक्त घोषणा गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र कुमार झा ले जानकारी दिनुभयो । झापाको सरसफाइ कभरेज ९७.३ प्रतिशत रहेको छ ।

यस्तै खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष नरेश प्रसाद पोखरेलले सरसफाइ सप्ताहको समापन हुने दिन मोरङलाई पनि खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
डिवाससीसी सुनसरीले भने १० गते नै खुला दिसामुक्त घोषणा गर्ने जनाएको छ । जिल्ला समन्वय समिति सुनसरीकी उप प्रमुख कृष्णा कुमारी विक ले यही १० गते नै सुनसरीलाई खुलादिसामुुक्त घोषणा गर्ने बताउनुभयो ।
खानेपानी तथा ढल निकास विभागका अनुसार मोरङको ९३ प्रतिशत र सुनसरीको ९९.५ प्रतिशत घरमा चर्पी निर्माण भइसकेका छन् ।
झापा, मोरङ र सुनसरीका साझेदारहरुसँगको अन्तरक्रिया गोष्ठी सकेर विभागको टोली आजै काठमाडौ फर्किएको छ ।



761 पटक हेरिएको 

